चलचित्र ‘कार्साङ’को ट्रेलर दर्शकले रुचाएका छन् । ट्रेलरले दर्शकबाट लोभलाग्दो माया पाइरहेको छ ।
सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेलर ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ । ट्रेलर मुभी सेक्सनको दुई नम्बरमा छ ।
एक नम्बरमा सलमान खानको सिकन्दरको टिजर छ । ‘कार्साङ’को ट्रेलरमा दर्शकको आकर्षण देखिएको छ । वर्षकै राम्रो ट्रेलर भन्दै सिनेमाले पनि त्यस्तै सफलता पाउने प्रतिक्रिया युट्युबमा आइरहेको छ ।
दया र जितुको अभिनयको तारिफ गर्दै दर्शकले अब शेर्पा समुदायको कथा दर्शकले नजिकबाट नियाल्न पाउने बताइरहेका छन् ।
ट्रेलरले पाएको यो माया चलचित्रले पनि पाउने अपेक्षा चलचित्र निर्माणपक्षको छ । “यही तहको माया हामीले सिनेमा हलमा दर्शकबाट पनि अपेक्षा गरेका छौँ,” निर्देशक यम शेर्पाले भने, “दर्शकले देखाउनु भएको यो माया र अपेक्षा पूरा हुनेगरी हामीले चलचित्र बनाएका छौँ ।”
चलचित्र ‘कार्साङ’को ट्रेलरमा पात्रको अभाव, झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन, समाजले गर्ने बहिष्कार, रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले चलचित्रको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता देखाएको छ ।
अन्धविश्वास, परिवारको माया, अरुको चियोचर्चो गर्ने समाजले परिवारमा पुर्याएको बेमेल र छिन्नभिन्न परिवारको कथा ट्रेलरमा देख्न सकिन्छ ।
पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’ यम शेर्पाको डेब्यू निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन् ।