काठमाडौं । अन्तरिक्षमा सफलतापूर्वक दुई ओटा अन्तरिक्षयान डक गर्नेमा भारत चौथो देश बनेको छ । बिहीबार बिहान इन्डियन स्पेस रिसर्च एजेन्सी (इसरो)ले पहिलोपटक सफलतापूर्वक डकिङ गरेको हो ।
यसअघि रुस, अमेरिका र चीनले मात्र सफलतापूर्वक डक गरेका थिए । स्पेस डकिङ भन्नाले अन्तरिक्षमा दुई ओटा अन्तरिक्ष यान जोड्नु हो ।
यो प्रविधि भारतको भविष्यको महत्त्वाकांक्षी अन्तरिक्ष स्टेसन निर्माण र विभिन्न अन्तरिक्ष मिसनका लागि अत्यावश्यक भएको बताइएको छ । भारतले चन्द्रयान-४, गगन-यान जस्ता मिसन सञ्चालन गरिरहेको छ । यसअन्तर्गत चन्द्रयान–४ मिसनमा चन्द्रमाको माटोको नमुना पृथ्वीमा ल्याउने र गगन-यान मिसनमा मानिसलाई अन्तरिक्षमा पठाउने योजना छ ।
इसरोले श्रीहरिकोटाको सतीश धवन स्पेस सेन्टरबाट गत डिसेम्बर ३० मा राति १० बजे स्पेस डकिङ एक्सपेरिमेन्ट मिसन सुरु गरेको थियो । यस अन्तर्गत ‘PSLV-C60’ रकेटको सहायताले पृथ्वीबाट ४७० किलोमिटर माथि दुई ओटा अन्तरिक्ष यान तैनाथ गरिएको थियो ।
यसअघि जनावरी ७ र ९ मा प्राविधिक समस्याका कारण डकिङ स्थगित भएको थियो । जनवरी १२ मा पनि अन्तरिक्षयानहरूलाई तीन मिटर नजिक ल्याएपछि सुरक्षित दूरीमा फिर्ता लगिएको थियो ।