गृहपृष्ठ Featured प्रधानमन्त्री कप : उपाधिका लागि एपिएफ र सुदूरपश्चिम भिड्दै

प्रधानमन्त्री कप : उपाधिका लागि एपिएफ र सुदूरपश्चिम भिड्दै

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र घरेलु टोली सुदूरपश्चिम भिड्दै छन् । सुपर फोरअन्तर्गत शुक्रबार भएका खेलमा जित निकाल्दै दुवै टोली उपाधि दौडमा उभिएका हुन् ।

एपिएफ सुपर फोरमा अपराजित रह्यो । चार अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहँदै एपिएफ फाइनलमा पुगेको हो । एक खेलमा जित र एकमा हार व्यहोरेको सुदूरपश्चिमले दुई अंकसहित फाइनलमा स्थान सुरक्षित गरेको हो । समान दुई अंक भएका बागमती र विभागीय टोली त्रिभुवन आर्मी क्लब भने रनरेट कमजोर हुँदा फाइनल पुग्न सकेनन् ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा एपिएफले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्‍यो । एक सय १६ रनको विजय लक्ष्य पछ्याएको आर्मी निर्धारित १७ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा समेटियो । आर्मीका लागि राधिका पुजाराले १७ तथा कप्तान लक्ष्मी साउँदले १० रन बनाउनबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपिएफका रेखा रावलले ४ विकेट लिइन् । त्यस्तै सवनम राईले २ तथा कप्तान इन्दु बर्माले १ विकेट लिइन् ।

खराब मौसमका कारण खेल १७ ओभरमा छोट्याइएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले  निर्धारित ओभरमा ३ विकेट गुमाउँदै एक सय १५ रन बनाएको थियो । एपिएफका लागि राजमती ऐरले ३५ रन बनाइन् । उसका कविता जोशीले ३४ र कप्तान इन्दु बर्मा १८ रनमा अविजित रहिन् । आर्मीका सुस्मिता भुषालले २ तथा इश्वरी बिष्टले १ विकेट लिइन् ।

शुक्रबार नै भएको सुपर फोरको अन्तिम खेलमा बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा स्थान बनाउन सफल भयो । एक सय १३ रनको विजय लक्ष्य पछ्याएको बागमती १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनमा समेटियो । उसका लागि यशोदा बिष्टले ३० र हेलिसा गुरुङले २३ रन बनाइन् ।  सुदूरपश्चिमका कविता कुँवर र करिस्मा थापाले २/२ तथा आषिका महरा र रितु कनौजियाले १/१ विकेट लिइन् ।

टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एकसय १२ रन बनाएको थियो । सुदूरपश्चिमका लागि रितु कनौजियाले सर्वाधिक ३४ बनाइन् । त्यस्तै मनिषा बोहराले १६ र कविता कुँवरले १३ रन बनाइन् ।

बागमतीका मनिषा उपाध्याय र सोनु खड्काले ३/३ तथा विपिशा शाहीले १ विकेट लिइन् । उपाधिका लागि एपिएफ र सुदूरपश्चिम आज भिड्दै छन् ।

सम्बन्धित् समाचार