काठमाडौँ — डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै अमेरिकाले अनधिकृत आप्रवासीलाई सामूहिक रूपमा फिर्ता गर्न थालेको छ । अमेरिकाको इमिग्रेसन एन्ड कस्टम एन्फोर्समेन्ट (आईसीई) कार्यालयका अनुसार ट्रम्पले पदभार ग्रहण गरेयता कम्तीमा २ हजार ६ सय ८१ जना अनधिकृत आप्रवासी पक्राउ परेका छन् ।
ट्रम्पले चुनावी अभियानमै घोषणा गरेअनुसार दक्षिणी सीमामा संकटकाल घोषणासमेत गरिसकेका छन् । उनको घोषणासँगै मेक्सिकोसँगको सीमा क्षेत्रमा १५ सय सैनिक तैनाथ गरिएको छ । रक्षा मन्त्रालयले थप १० हजार सैनिक खटाउने तयारी गरिरहेको छ ।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार अमेरिकामा ३ लाखभन्दा बढी नेपालीमूलका बासिन्दा छन् । जसमध्ये २ लाखले ग्रिनकार्ड र करिब ८७ हजारले नागरिकता प्राप्त गरेका छन् । २० हजार विद्यार्थी छन् भने २० हजारले शरणार्थीका रूपमा आवेदन दिएका छन् । साथै ७ हजार ५ सयले अस्थायी आवासीय अनुमति पाएका छन् । त्यस्तै इमिग्रेसन एन्ड कस्टम एन्फोर्समेन्ट (आईसीई) ले १३ सय नेपाली अनधिकृत रहेको अनुमान गरेको छ ।
अमेरिकामा सन् १९९० मा ३५ अनधिकृत आप्रवासी थिए । २०२२ मा हालसम्मकै उच्च अर्थात् १ करोड २२ लाख पुगेको थियो । त्यो संख्या केही घटेर हाल १ करोड १० लाख रहेको प्यु रिसर्चले जनाएको छ । तीमध्ये सबैभन्दा बढी मेक्सिकोका ४० लाख छन् ।








