क्लब ब्रुगलाई पराजित गर्दै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको प्लेअफमा पुगेको छ।
गएराति सिटीले आफ्नो महत्त्वपूर्ण खेलमा बेल्जियन क्लबलाई ३-१ गोलले पराजित गर्दै प्लेअफ सुनिश्चित गरेको हो।
सिटीको जितमा कोभासिक र साभिन्होले गोल गरे। घरेलु मैदान इतिहाडमा ४५ मिनेटमा सिटीले पहिलो गोल खाएको थियो।
ब्रुगका राफायल ओनेडिकाले गोल गरेपछि पहिलो हाफमा सिटी १-० ले पछि परेको थियो। कोभासिकले ५३ मिनेटमा बराबरी गोल फर्काए। ब्रुगका जोयल ओर्डोनेजले ६२ मिनेटमा आत्मघाती गोल गरेपछि सिटीले अग्रता लियो।
साभिन्होले ७७ मिनेटमा गरेको गोल निर्णायक बनेपछि सिटी समूह चरणबाटै बाहिरिने खतरा पार गरेको हो। पराजित भएको ब्रुगले पनि प्लेअफ खेल्नेछ।