सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा ७औं नगरस्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता मंगलबारदेखि औपचारिक रुपमा चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा सुरु भएको हो ।
बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले प्रतियोगिताले खेलाडीहरुको खेल सिपमा निखार्ता ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । यस प्रतियोगिताले क्षमतावान खेलाडी तयार गर्ने आधार प्रदान गर्ने उनको भनाई छ ।
उनले खेलप्रति रुचि भएकाहरुलाई खेलकुदमै भविष्य बनाउने गरि कडा परिश्रम गरेर अघि बढ्न आग्रह गरे । त्यसका लागि नगरले आवश्यक पहल र सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । उनले यस प्रतियोगिता आफ्नो प्रतिभा प्रस्फुटन गर्ने महत्वपूर्ण अवसर भएको बताए ।
उनले अध्ययनका साथसाथै अतिरिक्त क्रियाकलाप तथा खेलकुदका गतिविधि अगाडी बढाउनुपर्ने आवश्यकता रहेको बताए ।
प्रतियोगिताको पहिलो दिन विभिन्न ७ खेलहरु भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले जानकारी दिए ।
उनका अनुसार छात्रछात्राको १०० मिटर दौड हिट, छात्रछात्राको १५०० मिटर दौड, हाईजम्प, लङ्गलम्प, सटफुट, छात्राहरुको भलिबल र छात्रहरुको कबड्डी खेल भएका छन् ।
पहिलो दिनको खेल सकिदाँ ४ स्वर्णसहित हेमराज मावि हथौसा पहिलो स्थानमा रहेको छ ।
नगर खेलकुद विकास समितिका अध्यक्ष पदम सेनले राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता भन्दा अगाडि सम्पन्न प्रथम आधारभूत तहको खेलकुद प्रतियोगिताको उपाधि ६ स्वर्ण १ कास्यसहित सुर्योदय मावि बरवाले जितेको छ ।
उनका अनुसार ३ स्वर्ण, ५ रजत, २ कास्यसहित हेमराज मावि हथौसा द्धितीय र ३ स्वर्ण, १ रजत, २ कास्यसहित होराईजन मावि सिद्धिपुर तृतीय भएको छ ।
उनले आगामी माघ २७ देखि फागुन ३ गतेसम्म मेयर कप हुने जानकारी दिए । उनले फागुन ५ देखि ७ गतेसम्म उपमेयर कप अन्तर्गत नगरस्तरिय महिला बलिबल प्रतियोगिता हुने बताए ।