पाँच करोड मूल्यको टल्किने ढुंगा दिन्छु भन्दै प्रलोभनमा पारेर ठगी गरेको आरोपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पर्वत फलेवास नगरपालिका ५ घर भई हाल पोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने ३१ वर्षकी ईन्दिरा विक, सोही ठाउँका ३६ वर्षीय राजन विक र खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ की २७ वर्षकी जुनु भन्ने लक्ष्मी राईलाई पोखराको लेकसाइडबाट पक्राउ गरेको हो।
उनीहरुले ५ करोड मूल्य पर्ने टल्किने ढुंगा दिने प्रलोभनमा पारेर १३ लाख रुपैयाँ ठगी गरेको भन्दै कुन्ती सुब्बा गुरुङले जाहेरी दिएकी थिइन्।
प्रहरीले ईन्दिरा विक र राजन विकको कोठाबाट सेतो रंगको पारदर्शी ढुङ्गा ६ थान र रातो रङको ढुङ्गा १ थान बरामद गरेको छ।
विभिन्न बैंकका ३१ लाख बराबरका ४ थान चेक र मोबाइल ४ थान समेत बरामद गरेको छ।
कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर ठगी सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए।








