गृहपृष्ठ Featured न वर्षा न हिमपात, खडेरी बढ्ने संकेत , काला पहाडमा परिणत हुँदै सेता हिमाल

न वर्षा न हिमपात, खडेरी बढ्ने संकेत , काला पहाडमा परिणत हुँदै सेता हिमाल

हिउँदको समय सकिन अब करिब तीन साता मात्रै बाँकी छ। बितेको हिउँदे पाँच महिनामा हिमपात र वर्षा नहुँदा गम्भीर वातावरणीय असर देखिन थालेका छन्।

हिउँदमा हिमपात नभएपछि सेता हिमाल फुस्रा बन्दै गएका छन् भने पानी नपर्दा खेतबारीमा लगाएका खाद्यान्नलगायत बाली ओइलाउन थालेको किसानले बताएका छन्।

माघ नसकिँदै गर्मी बढेको र विगतका वर्षको तुलनामा जाडो कम भएको म्याग्दीको बेनी नगरपालिका-२ का ८९ वर्षीय वेदप्रसाद उपाध्यायले बताए।

जल तथा मौसम विज्ञान विभागले मङ्सिर १५ देखि फागुन १६ सम्मको हावापानी आकलन गर्दा औसतभन्दा कम पानी पर्ने र न्यूनतम र अधिकतम तापक्रम बढ्ने अनुमान यस अघि नै गरेको थियो। हिउँदमा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण जल तथा मौसम विभागको थियो।

तत्काल पानी पर्ने र हिमपात हुने सम्भावना नदेखिएपछि हिउँदे खडेरी पर्ने आकलन गर्दै विज्ञहरूले कृषि, जल, वन, ऊर्जालगायत क्षेत्रमा असर पर्ने चिन्ता व्यक्त गरेका छन्।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले यही अवस्था रहिरहने हो भने तत्काल पानी पर्ने र हिमपात हुने सम्भावना नरहेको बताइन्।

‘अहिलेको अवस्थामा वर्षा र हिमपात भइहाल्ने लक्षण देखिँदैन। सुक्खा खडेरीको लक्षण देखिएको छ। यद्यपि फेब्रुअरी नसकिएसम्म समग्र यो हिउँद कस्तो भयो भन्न मिल्दैन’, प्रवक्ता पोखरेलले भनिन्।

हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण पर्यावरणीय सङ्कट देखिन थालेको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन्। हिमालमा हिउँको मात्रा घट्दै गएको छ।

हिमालमा हिउँ कम जम्मा भएको र त्यसको स्तर (हिउँरेखा) तलमाथि हुने गरेकाले पर्यावरणीय सङ्कट बढ्दै जान थालेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका (इसिमोड) का वैज्ञानिकले बताएका छन्।

नेपालमा मुख्यालय रहेको इसिमोडले हालै सार्वजनिक गरेको हिउँ अध्ययन अध्यावधिक रिपोर्ट २०२४ अनुसार हिमालय क्षेत्रमा सन् २०२४ को जाडो याममा सरदरभन्दा कम हिउँ पर्ने र जमिनमा हिउँ रहिरहने समय अवधि पनि घट्ने जनाएको थियो।

हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाने तर समयमा हिमपात नहुने र भए पनि अत्यन्त कम मात्रामा हुने गरेकाले केही वर्ष अघिसम्म चाँदीजस्तै टल्कने सेता हिमाल पछिल्ला केही वर्षयता काला पहाडमा परिणत हुँदै जान थालेको इसिमोडमा कार्यरत वैज्ञानिक शेर मोहम्मद बताउँछन्।

‘पानीको बहावको समय र तीव्रतामा व्यापक फेरबदलको संकेत देखिएको छ। यो शोधकर्ता, नीति निर्माता र तल्लो तटीय क्षेत्रमा रहने समुदायका लागि खतराको घण्टी हो’ वैज्ञानिक मोहम्मदले भने।

इसिमोडका वैज्ञानिकले पानी अभाव, बाढी, खडेरीजस्ता प्राकृतिक प्रकोपबाट जोगिन सक्रिय कदम उठाउनुपर्ने र हरितगृह ग्यास उत्सर्जन घटाउनुपर्नेमा जोड दिएका छन्। हिउँद याममा हिउँ पर्ने क्रम घटेको र हिमालय क्षेत्रको जमिनमा हिउँ धेरै समयसम्म रहिरहन नसक्ने समस्या देखिन थालेको वैज्ञानिकको भनाइ छ।

म्याग्दीको मुदीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ। आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भए पनि केही वर्षयता हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको म्याग्दीका पर्यटन व्यवसायी चक्रबहादुर तिलिजा पुनले जानकारी दिए।

हिउँदेयाममा समेत हिउँ नपरेपछि डाँडाकाँडा रुखा र सुक्खा देखिन थालेका छन् भने हिमालहरू कालापत्थरमा परिणत भएका छन्।

‘पहिले धौलागिरि हिमशृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो, पछिल्ला केही वर्षयता हिमालका तल्लो भाग काला पहाडजस्ता देखिन थालेको छ, जाडो याममा समेत हिमालहरु नाङ्गिएको देखिन्छ,’ तिलिजाले भने।

सम्बन्धित् समाचार