गृहपृष्ठ खबर अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज किर्गिस्तानसँग खेल्दै नेपाल

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज किर्गिस्तानसँग खेल्दै नेपाल

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ।

चार देश सम्मिलित च्याम्पियनसिप दशरथ रंगशालामा सुरू हुन लागेको हो।

सोमबार दुई खेल हुँदैछन्।

दिउँसो २ बजे हुने उद्घाटन खेल म्यानमार र लेवनानबीच हुनेछ।

साँझ ६ बजे नेपाल र कीर्गिस्तानबीच खेल हुनेछ।

फिफा वरीयतामा कीर्गिस्तान नेपालभन्दा तल छ। नेपाल १०३ औं स्थानमा रहँदा किर्गिस्तान १२८ औं स्थानमा छ।

कीर्गिस्तानसँग नेपाल एकपटक मात्रै खेलेको छ। ६ वर्षअघि भएको भएको खेलमा नेपाल ८-२ गोलले विजयी भएको थियो।

यद्यपि ६ वर्षअघि जित निकालेको भएपनि अहिले सो टोली बलियो रहेको नेपालका प्रशिक्षक  राजेन्द्र तामाङले आइतबार पत्रकार सम्मेलनमा बताएका थिए।

प्रतियोगिताकै लागि रेखा पौडेल, कप्तान एन्जिला तुम्बापो सुब्बा केही दिनअघि नै नेपाल फर्किएका थिए। उनीहरू युरोपका विभिन्न लिग खेलिरहेका थिए। नेपाल टिमका स्टार फरवार्ड साबित्रा भण्डारी साम्बा सोमबार बिहान फ्रान्सबाट नेपाल आउँदैछिन्।

उनले पहिलो खेल खेल्ने सम्भावना न्यून छ।

प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेलाइनेछ। शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ।

प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ ५०० र भिआइपीतर्फ एक हजार तोकिए‌को छ। टिकट खल्ती एपबाट किन्न सकिनेछ।

प्रतियोगिताको लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन म्याच डे हुनेछन्। नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ।

यस प्रतियोगितालाई एएफसी वुमन्स एसियन कप २०२६ को छनोटको तयारीका रूपमा लिइएको छ।

एएफसी वुमन्स एसियन कप २०२६ का लागि आगामी जुन २३ देखि जुलाई ५ सम्म छनोट प्रतियोगिता आयोजना हुँदैछ।

छनोट प्रतियोगितामा नेपालसहित ३३ टोलीले भाग लिँदैछन्। ३३ टोलीलाई आठ समूहमा विभाजन गर्न आगामी मार्च २१ मा ड्र हुँदैछ। आठ समूहका विजेताहरू सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी वुमन्स एसियन कप २०२६ मा पुग्नेछन्।

यति मात्र होइन उक्त प्रतिस्पर्धा २०२७ को फिफा वुमन्स विश्वकप र २०२८ को ओलम्पिकको छनोट समेत हो।

नेपाली टोली

गोलकिपर

एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर

अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई

मिडफिल्डर

अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ

फरवार्ड

सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

सम्बन्धित् समाचार