सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ३ ले कृषकहरूलाई स्प्रे ट्याङ्की वितरण गरेको छ । वडाले बार्षिक निति तथा कार्यक्रम अन्तर्गत ८० प्रतिशत अनुदानमा १३२ जना कृषकहरुलाई स्प्रे ट्याङ्की वितरण गरेको वडाध्यक्ष शैलेन्द्र कुमार यादवले जानकारी दिए ।

स्प्रे ट्याङ्कीको अभावमा कृषकहरुलाई कृषिबालीमा किटनाशक औषधी छर्न अन्यत्रबाट भाडाँमा स्प्रे ट्याङ्की ल्याउनुपर्ने बाध्यतालाई अन्त्य गर्न स्प्रे ट्याङ्की वितरण गरिएको उनलेबताए । उनले यस्ता कार्यक्रमले कृषकहरुलाई कृषितर्फ थप प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे । वडाले निष्पक्ष रुपमा वास्तविक कृषकलाई छनोट गरेर स्प्रे ट्याङ्की वितरण गरेको उनले बताए ।
वडा नं.३ कृषकहरुको वडा भएको भन्दै उनले कृषकका समस्या समाधान गर्न वडा लागिपरेको बताए । उनले आफु निर्वाचित भएपछि ईमान्दारिता र निष्पक्षताका साथ वडाका गतिविधिहरुलाई संचालन गर्दै आएको दाबी गरे ।

‘मैले राम्रो काम गर्दै गर्दा केही व्यक्तिले आफ्नो स्वार्थ पुरा नहुँदा खुट्टा तान्ने गरेका छन् । ति व्यक्तिहरुले अझैसम्म वडाको विकासमा केही योगदान नै गरेका छैनन्,’ उनले भने ।
उनले वडाको स्रोत साधनले भ्याएसम्मका कामहरु प्रभावकारी रुपमा संचालन गर्दै आएको जिकिर गरे ।
उनले विगतका बर्षहरुमा वडाबाट तरकारीका विउविजन, घाँसको विउ तथा कृषि औजारहरु उपलब्ध गराउँदै आएको बताए । उनले कृषकहरुलाई सहज रुपमा सिंचाईको व्यवस्था गर्न वडाले बाँधमा लगानी गरेको जानकारी दिए ।
कृषकहरुले स्प्रे ट्याङ्की पाएपछि अब वालीहरुमा औषधी छर्दा स्प्रे ट्याङ्की खोज्दै हिड्नुपर्ने बाध्यताको अन्त्य हुने भन्दै वडालाई धन्यवाद दिए । वडाले कृषकको आवश्यकतालाई बुझेर काम गरेको भन्दै उनीहरुले खुशी समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा वडा सदस्य रामबुझ यादव, ईन्द्र कुमार थारु, शिवकुमारी रैदास, वडा सचिव नन्दलाल कोहार, प्राविधिक शिवशंकर कुर्मी, पशु प्रविधिक युवराज घिमिरे, कम्प्युटर अपरेटर रामनारायण यादव तथा समाजसेवी राजेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।








