वैखरी अनलाइन, बाणगंगा ।
बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा जारी प्रथम वडा अध्यक्ष रनिङ्ग फुटवल प्रतियोगितामा वडा नं.३ र १० ले विजयी सुरुवात गरेका छन् । वडा नं.१ को आयोजनामा भएको उक्त प्रतियोगितामा मंगलबार भएको पहिलो खेलमा वडा नं.५ लाई १−० गोलले पराजित गर्दै वडा नं.३ ले रोमाञ्चक जित निकालेको हो ।
निर्धारत समय सकिन १ मिनेट बाँकी रहँदा वडा नं.३ को लागि हम्बिर रजालीले गोल गरेका थिए । हम्बिर नै म्यान अफ दि म्याच’ घोषित भए । अब वडा नं.३ विहिबार भोलि वडा नं.१ संग सेमिफाईनल प्रवेशका लागि भिड्ने छ ।
यस्तै बुधबार आज नै भएको दोस्रो खेलमा वडा नं.७ लाई २−० गोलले पराजित गर्दै वडा नं.१० सेमिफाईनल प्रवेश गरेको छ । वडा नं.१० को जितमा बिमल राना र बसन्त थापाले एकएक गोल गरेका हुन् । एक गोल गरेका बसन्त ‘म्यान अफ दि म्याच’ घोषित भए । अब वडा नं.१० सेमिफाईनलमा शुक्रबार वडा नं.४ संग भिड्ने छ ।
वडाध्यक्ष सन्जु कुमार सारु मगरले विहिबार दिउँसो १२ बजे वडा नं.१ बीच खेल हुने जानकारी दिए ।
प्रतियोगिताको उपाधि जित्ने वडाले नगद रु. १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद रु ५० हजार, शिल्ड, मेडल र प्रमाण प्राप्त गर्ने छ ।
सोमबारदेखि सुरु भएको यस प्रतियोगिता आगामी फागुन १० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।








