गृहपृष्ठ खबर वडा नं.२ ले जित्यो प्रथम वडाध्यक्ष रनिङ्ग फुटवल प्रतियोगिताको उपाधि

वडा नं.२ ले जित्यो प्रथम वडाध्यक्ष रनिङ्ग फुटवल प्रतियोगिताको उपाधि

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.१ ले आयोजना गरेको प्रथम वडा अध्यक्ष रनिङ्ग फुटवल प्रतियोगिताको उपाधि वडा नं.२ ले जितेको छ । बुद्धरंगशालामा शनिबार भएको फाईनल खेलमा वडा नं.४ लाई पराजित गर्दै वडा नं.२ ले उपाधि चुमेको हो ।

निकै रोमाञ्चक भएको फाईनल खेलमा वडा नं.२ ले १–० गोलले वडा नं.४लाई हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त फाईनल खेलको दोस्रो हाफमा वडा नं.२ का लागि अशोक रायमाझीले गोल गरेका थिए ।

अशोकले गरेको एक गोलको मद्दतले नै वडा नं.२ ले उपाधि हात पार्न सफल बन्यो । वडा नं.२ का लागि नायक बनेका अशोक नै फाईनल खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । उपाधि हात पारेसंगै वडा नं.२ ले नगद रु. १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

यस्तै उपविजेता बनेको वडा नं.४ ले नगद रु ५० हजारसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गरेको आयोजकले जनाएको छ ।

वडा नं.२ ले सेमिफाईनलमा वडा नं.१ लाई हराएको थियो भने वडा नं.४ ले वडा नं.१० लाई हराएको थियो ।

खेलाडीहरुलाई बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी लगायतले पुरस्कार प्रदान गरेका हुन् ।

वडाध्यक्ष सन्जु कुमार सारुले वडाको यो पहिलो प्रयास भएको भन्दै यसलाई आगामी बर्षहरुमा समेत निरन्तरता दिने बताए । उनले वडा नं.१ ले खेल क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउँदै खेलकुदकै माध्यमबाट वडा, नगर, जिल्लालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन सकिने बताए ।

उनले खेल क्षेत्रमा युवाहरुलाई थप प्रोत्साहन गर्न यस्ता प्रतियोगिता आवश्यक रहेको बताए । वडा नं.१ ले आयोजना गरेको यस प्रतियोगिताले नगरसंगै जिल्लामै सकारात्मक सन्देश प्रवाह गरेको उनको भनाई छ ।

सम्बन्धित् समाचार