गृहपृष्ठ खबर रुपन्देहीको सियारी : सुत्केरी आमाहरुलाई उपाध्यक्ष थारुको उपहार ‘पोषणयुक्त आहार’

रुपन्देहीको सियारी : सुत्केरी आमाहरुलाई उपाध्यक्ष थारुको उपहार ‘पोषणयुक्त आहार’

प्रकाशित मिति:

वैखरी अनलाईन, कपिलवस्तु ।

रुपन्देहीको सियारी गाउँपालिका सुत्केरी आमाहरुको साहारा बनेको छ । पालिकाभित्र सुत्केरी भएका सबै आमाहरुलाई आवश्यक पर्ने पोषणयुक्त आहार प्रदान गरेर सियारी सुत्केरी आमाहरुको साहारा बनेको हो ।

‘उपाध्यक्षसहितको सुत्केरी पोषण सामग्री सहित शिशु स्वागत कार्यक्रम’मार्फत सुत्केरी आमाहरुलाई जीवनकै सबैभन्दा संवेदनशील अवस्थामा पालिका साथ रहेको सन्देश दिन यो कार्यक्रम विगतदेखि नै गरिरहेको उपाध्यक्ष तारा थारुले बताईन् ।

मुख्यतः गाउँपालिकाका बिपन्न बर्गका सुत्केरी महिलाहरुलाई लक्षित गरी कार्यक्रम ल्याइएको भए पनि सबैखाले सुत्केरीलाई यो सेवा दिने गरिएको उनले बताईन् । उनले सुत्केरी आमाहरुले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले उक्त कार्यक्रम आफु निर्वाचित भएपछि निरन्तर रुपमा गर्दै आएको बताईन् ।

गर्भवतीदेखि सुत्केरी भएको केही महिनासम्म महिला र नवजात शिशुलाई अत्याधिक पोषणयुक्त आहारको खाँचो पर्ने भएकाले यो कार्यक्रम ल्याइएको उनको भनाई छ । सुत्केरी र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था मजबुत बनाउन सके मात्र भविष्यमा स्वस्थ्य र तन्दुरुस्त नागरिक हुन सक्ने उनले बताईन् ।

सुत्केरी आमालाई स्थानीय स्तरमै उत्पादित घिउ, महसहित सरफ, साबुन, टुटपेस्ट, ब्रस र झुल वितरण गरिएको उनले जानकारी दिईन् । उनले मातृशिशुको चौतर्फी वृद्धि विकासका लागि पोषणयुक्त खानाको सेवन अपरिहार्य रहेको बताईन् । कुपोषणको शिकारबाट आमा र बच्चा दुवैलाई जोगाउन कार्यक्रम फलदायी सावित भएको उनको भनाई छ । कार्यक्रम लाभदायक र प्रभावकारी सावित हुँदै आउकाले यसलाई आगामी दिनहरुमा थप बिस्तार गर्दै लगिने उनले बताईन् ।

उक्त कार्यक्रममार्फत पोषणयुक्त खानेकुरा प्राप्त गरेपछि यहाँका सुत्केरी भएका आमा तथा उनीहरुका घरपरिवार निकै खुशी भएका छन् । खासगरी बिपन्न परिवारका सुत्केरी महिला र नवजात शिशुका लागि यो कार्यक्रम बरदान सावित भएको छ ।

सम्बन्धित् समाचार