गृहपृष्ठ खबर तिलौराकोट गोल्डकप : गोल किपर सन्तोष नायक बन्दा टाईब्रेकरमा मछिन्द्र विजयी

तिलौराकोट गोल्डकप : गोल किपर सन्तोष नायक बन्दा टाईब्रेकरमा मछिन्द्र विजयी

सागर वि.क., वैखरी अनलाईन ।

मछिन्द्र एफसी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । विहिबार भएको क्वाटरफाईनल खेलमा हिमालयन शेर्पालाई टाईब्रेकरमा ३–० गोलले पराजित गर्दै मछिन्द्र सेमिफाईनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा मछिन्द्रका लागि शौरभ सुब्बा, असिम गुरुङ्ग र पुजन श्रेष्ठले गोल गरे भने पदम श्रेष्ठको प्रहार पोलमा ठोक्किएर बाहिरियो ।

हिमालयन शेर्पाका उमेश कार्की, अश्विन धोराशैनी र राज कुँवर तीनै जनाको प्रहार मछिन्द्रका गोल किपर सन्तोष महतले ब्लक गरिदिए । मछिन्द्रको जितमा नायक बनेका सन्तोष नै ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

शुक्रबार दिउँसो ३ बजे थ्रीस्टार र हनामी विएफसी चितवनबीच आयोजक संस्था जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए ।

जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा भएको यस प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुसिल सिंह ठकुरीले जानकारी दिए ।

फागुन १४ गतेदेखि सुरु भएको यस गोल्डकपको फाईनल आगामी फागुन २१ गते हुने छ ।

सम्बन्धित् समाचार