गृहपृष्ठ खबर तिलौराकोट गोल्डकपको सेमिफाईनल समिकरण पुरा

तिलौराकोट गोल्डकपको सेमिफाईनल समिकरण पुरा

सागर वि.क., वैखरी अनलाईन ।

दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।

शनिबार भएको खेलमा नेपाल पुलिस क्लवलाई टाईब्रेकरमा पराजित गरेर जोङग्री एफसी सिक्किमले अन्तिम चारमा स्थान बनाएसंगै सेमिफाईनल समिकरण पुरा भएको हो । सिक्किमले पुलिसलाई टाईब्रेकरमा ४–२ गोलले पराजित गरेको हो ।

निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । सिक्किमको जितमा निमा लेप्चा, आयुभ सुब्बा, जोन लेप्चा र चोपेलले गोल गरे । पुलिसका लागि कृष्ण गुरुङ र अमित टोमाटाले मात्र गोल गर्दा अनुप लिम्बुको प्रहार बाहिरियो भने किरण चौधरीको प्रहार सिक्किमका गोल रक्षक प्रनिश क्षेत्रीले ब्लक गरिदिए । सिक्किमका गोल रक्षक प्रनिश नै क्षेत्री ‘म्यान अफ द म्याच’ घोषित भए ।

उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । अब सिक्कम सोमबार हुने दोस्रो सेमिफाईनल खेलमा मिछिन्द्र एफसीसंग भिड्ने छ ।

आईतबार दिउँसो ३ बजे संकटा एफसी र थ्रीस्टारबीच पहिलो सेमिफाईनल खेल हुने जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए ।

जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा भएको यस प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुसिल सिंह ठकुरीले जानकारी दिए ।

जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा बाणगंगाको बुद्धरंगशालामा फागुन १४ गतेदेखि सुरु भएको यस गोल्डकपको फाईनल आगामी फागुन २१ गते हुने छ ।

सम्बन्धित् समाचार