गृहपृष्ठ Featured आयोजकलाई स्तब्ध पार्दै राइजिङ स्टार बन्यो कोहलपुर गोल्डकपको च्याम्पियन

आयोजकलाई स्तब्ध पार्दै राइजिङ स्टार बन्यो कोहलपुर गोल्डकपको च्याम्पियन

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राईजिङ स्टार फुटबल क्लबले जितेको छ । बाँकेको कोहलपुरमा सञ्चालित शनिबार भएको फाइनल खेलमा राईजिङ स्टारले आयोजक कोहलपुर रेसिङ साहारा क्लबलाई २–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

कोहलपुर–२ स्थित तेह्र विगाह खेल मैदानमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा लगातार दुई गोल गर्दै पाहुना टोलीले पहिलो पटक उपाधि जितेको हो । दोस्रो हाफको पहिलो मिनेटमै राईजिङका कप्तान विनोद केवटले गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । लगत्तै दुई मिनेटको अन्तरमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले राईजिङको उपाधि पक्का गरेका थिए । राईजिङका कप्तान विनोद केवटनै खेलको म्यान अफ द म्याच घोषित भए ।

उपाधिसहित राईजिङले ट्रफीसहित नगद आठ लाख रुपैयाँ प्राप्त गरेको छ । विजेता टोलीलाई कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले पुरस्कार प्रदान गरेका थिए । उपविजेता बनेको कोहलपुर रेसिङ साहारा क्लबले भने ४ लाख रूपैयाँ प्राप्त गरेको छ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीको अवार्ड आयोजक रेसिङ साहारा क्लबका विनोद केसीले जिते । उनले ट्रफीसहित ५१ हजार प्राप्त गरे । राईजिङ स्टारका चेतन थारू वेष्ट डिफेन्डर, प्रतिक सुनार उत्कृष्ट गोलकिपर, सन्दिप केसी उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे ।

विधागततर्फ उत्कृष्ट बनेका उनीहरुले नगद १० हजार रुपैयाँ प्राप्त गरे । राईजिङ स्टारका विनोद केवट र काँक्रेविहार फुटबल क्लबका धनसिंह विक सर्वाधिक गोलकर्ता हुँदै नगद पाँच–पाँच हजार प्राप्त गरे ।

कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा फागुन १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा घाना र भारतीय क्लब सहित आठ टिमको सहभागीता रहेको प्रतियोगिता संयोजक कर्ण बस्नेतले बताए ।

सम्बन्धित् समाचार