केलियन एमबाप्पेको दुई गोल सहयोगमा रियल मड्रिडले स्पेनिस ला लिगामा लेगेनासमाथि संघर्षपूर्ण जित दर्ता गरेको छ।
शनिबार राति भएको खेलमा रियलले लेगेनासमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो।
पहिलो हाफको ३२ औँ मिनेटमा केलियन एमबाप्पेको पेनाल्टी गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो।
त्यसको एक मिनेटमा नै डियगो गार्सियाको गोलमा लेगेनासले बराबरी गोल फर्कायो।
पहिलो हाफको ४१ औँ मिनेटमा डानी रवाको गोलमा लेगेनासले रियलविरुद्ध अग्रता दोब्बर पार्यो।
पहिलो हाफमा २–१ ले पछि परेको रियलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो। खेलको ४७ औँ मिनेटमा जुड बेलिङ्घमको गोलमा रियल खेलमा फर्कियो।
खेलको ७६ औँ मिनेटमा एमबाप्पलेको गोलमा रियलले ३–२ को जित दर्ता गरेको हो। एमबाप्पले रियलका लागि ३३ गोल गरिसकेका छन्।
जितसँगै रियलले ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ।
लिगको २९ खेलबाट १९ खेलमा जित, ६ खेलमा बराबरी र चार खेलमा हार भोगेको रियल ६३ अंकमा दोस्रो स्थानमा छ। रियलभन्दा एक खेल कम खेलेको बार्सिलोनाको २० खेलमा जित, ३ खेलमा बराबरी र ५ खेलमा हार भोग्दै ६३ अकमा नै तालिकाको शीर्ष स्थानमा छ।
गएराति नै भएको अर्को खेलमा रियल सोसिडाडले रियल भल्लाडोलिडमाथि २–१ को जित दर्ता गरेको छ।
अर्को खेलमा रायो भालेकानोले डिर्पोटिभ एलाभेसलाई २–० गोल अन्तरले पाखा लगायो। गराएति कै खेलमा स्प्यानोल र एथलेटिको मड्रिडले १–१ को बराबरी गर्दै अंक बाँडे।








