रुपन्देही ।
आगामी हप्तादेखि हङकङमा हुने चार देशीय टी–२० सिरिजका लागि रुपन्देहीको भैरहवामा नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधबारदेखि बन्द प्रशिक्षण सुरु भएको हो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको राष्ट्रिय क्रिकेट टिमलाई नेपाली टीमका प्रशिक्षक ज्ञानेन्द्र मल्लले प्रशिक्षण गर्नेछन् । भैरहवामा पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षण भएको हो ।
बन्द प्रशिक्षणमा पौडेलसहित, कुशल भूर्तेल, आशिफ शेख, किरणकुमार ठगुन्ना, लोकेश बम, बसिर अहम्मद, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, नन्दन यादव, रिजन ढकाल, गुलशनकुमार झा, अर्जुन घर्ती, कुशल मल्ल, रुपेश सिंह, दीपेन्द्र रावत, शाहब आलम र विवेक यादव छन् ।
बन्द प्रशिक्षणमा आएका खेलाडीहरुलाई रुपन्देही क्रिकेट संघले बुधबार स्वागतसहित आगामी सिरिजका लागि सफलताको शुभकामना व्यक्त गरेको छ ।
संघका अध्यक्ष हरिबहादुर थापाले खानपिन र अनुशासनमा रहेर खेले अहिलेको राष्ट्रिय टिमका सदस्यहरुले अझै १० वर्ष खेल्ने विश्वास व्यक्त गरे ।








