सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले कृषि पेशामा आवद्ध भएका पशुपालक किसानलाई च्यापकटर (घाँस,पराल काट्ने मेशिन) वितरण गरेको छ । सोमबार नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित बजेटबाट ५० प्रतिशत अनुदानमा ९ जना पशुपालक किसानलाई च्यापकटर प्रदान गरेको पशुसेवा शाखा प्रमुख राजकुमार तिवारीले वैखरीलाई जानकारी दिनुभयो ।

पशुसेवा शाखा प्रमुख तिवारीका अनुसार नगरपालिकाले मेशिनका लागी खुलाएको सुचनाका आधारमा १९ वटा आवेदन परेको र त्यसमध्ये मापदण्ड पुरा गरेका ९ वटा कृषि फर्मलाई छनोट गरि मेशिन प्रदान गरिएको हो ।
मेशिन हस्तान्त्रण गर्दै नगरप्रमुख चक्रपाणी अर्यालले नगरपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित नगरले काम गरिरहेको बताउनुभयो । उहाँले कृषि पेशालाई आधुनिकिकरणतर्फ उन्मुख गराउन किसानलाई यान्त्रिकीकरणमा सहयोग गरिएको बताउनुभयो । ‘बाणगंगा नगरपालिकामा किसानको संख्या ठूलो छ,’ उहाँले भन्नुभयो, ‘ती किसानलाई लक्षित गरेर कृषि यान्त्रिकीकरणमा जोड दिँदै उनीहरुलाई कृषि यान्त्रिकीकरण, विउविजनमा अनुदान तथा प्राविधिक सहयोग नगरपालिकाले विगतदेखि नै गर्दै आएको छ ।’

नगरपालिकाले किसानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्दै आएको उहाँले बताउनुभयो ।
उहाँले किसानहरुलाई प्रोत्साहन गर्ने गरी आगामी आर्थिक वर्षमा पनि किसानका माग र आवश्यकताका आधारमा नीति तथा कार्यक्रम तर्जुमा गरिने बताउनुभयो । नगरले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको दाबी गर्दै उहाँ भन्नुभयो, ‘कृषि उत्पादन बढाउँदै नगरपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने योजना छ । जसका लागी बर्षेनी ठूलो मात्रामा लगानी गरेका छौं । आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिदैं जाने छौं ।’
उहाँले कृषि पेशालाई व्यवसायिक बनाउँदै लैजानका लागि मागमा आधारित योजनाहरु कार्यान्वयनमा ल्याइएको उल्लेख गर्नुभयो । किसानले अनुदानमा प्राप्त गरेको कृषि उपकरणले कृषकको दैनिक काममा सहजता थप्ने उहाँको विश्वास छ । कृषि उपकरणले लागत घट्ने र उत्पादन बढ्ने हुँदा किसानहरुले प्रत्यक्ष फाईदा लिन सक्ने उहाँले बताउनुभयो ।
च्यापकटर प्राप्त कृषकहरुले नगरपालिकाले अनुदानमा कृषि उपकरणहरु उपलब्ध गराएको भन्दै खुसी व्यक्त गरेका छन् । यस्ता कार्यक्रमले किसानहरु लाभान्वित हुने र उत्पादनमा बृद्धि हुने उनीहरुको भनाई छ ।
बाणगंगा नगरपालिकाले हरेक आर्थिक बर्षमा पशु विकास शाखाका लागी मात्रै ८० लाखदेखि एक करोड २० लाखसम्म विनियोजन गर्दै आएको छ ।








