गृहपृष्ठ कपिलवस्तु बिशेष सामुदायिक वन बाणगंगाको धन : नगरप्रमुख अर्याल

सामुदायिक वन बाणगंगाको धन : नगरप्रमुख अर्याल

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले यस क्षेत्रका सामुदायिक वन समग्र बाणगंगा नगरपालिकाको धन भएको बताउनुभएको छ । बाणगंगाको समृद्धिका विभिन्न आधारहरुमध्ये सामुदायिक वन एक प्रमुख आधार भएको बताउँदै नगरप्रमुख अर्यालले सामुदायिक वन बाणगंगाको धन भएको बताउनुभएको हो ।

शनिबार डिभिजन वन कार्यालय कपिलवस्तुले बाणगंगा नगरपालिका–४ दरखास्तमा आयोजना गरेको स्थानीय तहसंगको समन्वय बैठकमा नगरप्रमुख अर्यालले यस्तो बताउनुभएको हो ।

वनको संरक्षण सबैको सरोकारको विषय भएको बताउँदै उहाँले भन्नुभयो, ‘स्थानीय सरकार र वन साँझा धारणासहित अघि बढ्नुपर्छ । सोही अनुरुप बाणगंगामा रहेका सामुदायिन वनसंग नगरको सम्बन्ध सुमधुर कायम छ । यसले सहकार्य गर्ने वातावरण बनेको छ ।’

 

वनले सुशासन र पारदर्शीतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँको भनाई छ । लागत स्टिमेटसहित वनलाई अघि बढ्न सुझाव दिदैं उहाँले त्यसका लागि नगरले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । यस्तो प्रयासले जिल्लामै सकारात्मक सन्देश प्रवाह हुने उहाँको विश्वास छ ।

उहाँले विगतको तुलनामा अहिले बाणगंगाका सामुदायिक वनमा काठदाउरा र वन्यजन्तुको चोरी तस्करी शुन्य अवस्थामा रहेको बताउनुभयो । उहाँले वन अतिक्रमण रोक्न नदिन बाणगंगा नगरपालिका प्रतिवद्ध समेत रहेको जिकिर गर्नुभयो । सो क्रममा नगरप्रमुख अर्यालले सामुदायिक वनबाट स्थानीय सरकारले पाउनुपर्ने १० प्रतिशत राजश्वका विषयमा विगतदेखि आफुले निरन्तर रुपमा आवाज उठाउँदै आएको बताउनुभयो ।

जिल्ला डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी प्रसाद पौडेलले वनहरुले काम गर्दा स्थानीय सरकारसंग आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्न आग्रह गर्नुभयो । समृद्धि वन र स्थानीय सरकार दुवैको साँझा मुद्धा भएको भन्दै उहाँले सहकार्य नहुदाँ त्यसमा प्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने बताउनुभयो ।

उहाँले समग्रमा बाणगंगा क्षेत्रका सामुदायिक वन र स्थानीय सहकारबीच समन्वयात्मक वातारण देखिएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले वनका ऐन र स्थानीय सरकारका ऐन नियमह स्पष्ट नहुँदा केही काम गर्न वन र स्थानीय सरकारलाई असहज भएको बताउनुभयो ।

उक्त बैठकमा श्रङ्गीघाट सामुदायिक वनका अध्यक्ष सुसिलसिंह ठकुरी, शिवमन्दिर सामुदायिक वनका अध्यक्ष झलकमल्ल ठकुरी लगायतले वनले प्रदेशलाई दिदैं आएको २५ प्रतिशत राजश्व, वन अतिक्रमण, सडक, खोल्सा व्यवस्थापन, नदीको अवैध दोहन लगायतको बारेमा प्रश्न राखेका थिए ।

उक्त बैठकमा बाणगंगा नगरपालिकाका उपप्रमुख रिताकुमारी, चौधरी, नगरप्रवक्ता विष्णु प्रसाद पौडेल, वडा नं.८ का वडाध्यक्ष बाबुराम अर्यालसहित वन कार्यालयका कर्मचारी तथा वनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सबडिभिजन वन कार्यालय मोतिपुरका वरिष्ठ वन अधिकृत एजाज अहमद अञ्सारीले यस क्षेत्रमा वनको स्थिति, वनका चुनौति, अवसर लगायतको बारेमा चर्चा गर्नुभएको थियो ।

सम्बन्धित् समाचार