सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले ३२ जना कृषकलाई सिंचाई मोटर वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच नगरपालिकाको ७० प्रतिशत अनुदान र कृषकको ३० प्रतिशत लगानीमा सिंचाई मोटर वितरण गरिएको कृषि शाखा प्रमुख देवीराम बेल्बासले जानकारी दिनुभयो ।
उहाँले २ हर्सपावर क्षमताका सिंचाई मोटरहरू वितरण गरिएको जानकारी दिदैं यसले कृषिमा सिंचाई सुविधा सहज बनाउँने र उत्पादनमा समेत वृद्धि गर्ने बताउनुभयोे ।
कृषकलाई सिंचाई मोटर हस्तान्तरण गर्दै नगरप्रमुख केशव कुमार श्रेष्ठले खेतीयोग्य जमिनमा सिंचाई सेवा पुर्याउने लक्ष्यसंगै कृषकलाई कृषि पेसातर्फ प्रोत्साहन गर्न यस्ता कार्यक्रम महत्वपूर्ण सावित हुने बताउनुभयोे ।
किसानलाई आत्मनिर्भर बनाउनुका साथै स्वरोजगार बनाउन आगामी दिनमा पनि नगरपालिकाले यस्ता कार्यक्रम ल्याउने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
सिंचाईको समस्या भोगिरहेका १० वटै वडाका कृषकलाई समावेश गरि सिंचाई मोटर वितरण गरिएको उहाँले बताउनुभयो । नगरपालिकाले स्रोत र साधनका आधारमा विगतदेखि नै कृषि क्षेत्रलाई प्राथमिकता दिदैं आएको बताउँदै उहाँले भन्नुभयो, ‘कृषिमा लाग्न प्रेरित गर्ने कार्यक्रम नगरले संचालन गर्दै आएको छ । यसले हजारौं कृषकहरु लाभान्वित हुनुभएको छ ।’
उहाँले कृषिका लागी सिंचाई अपरिहार्य भएकाले अब नगरपालिकाको ध्यान सिंचाईको व्यस्थापनतर्फ रहेको बताउनुभयो । उहाँले कृषकहरुलाई सिंचाई मोटरको सही सदुपयोग गरि उत्पादनमा वृद्धि गर्ने दिशातर्फ अघि बढ्न आग्रह समेत गर्नुभएको छ ।
आकाशे पानीको भरमा खेतीपाती गरिरहेका कृषकहरुले सिंचाई मोटर पाएपछि राहतको महसुस भएको बताएका छन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत वासुदेव भट्टराई, वडा नं ८ का वडाअध्यक्ष कपिलदेव तिवारी, वडा नं ९ का वडाअध्यक्ष प्रमोद आचार्य लगायतको सहभागिता रहेको थियो ।