भारतले इंग्ल्यान्डविरुद्धको चौथो टेस्ट ‘ड्र’ गरेको छ । टेस्टको अन्तिम दिन आइतबारको खेल समाप्तिमा भारतले चार विकेटको नोक्सानीमा ४२५ रन जोडेपछि टेस्ट बराबरी भएको हो ।
इंग्ल्यान्डले पहिलो इनिङ्समा सबै विकेट गुमाएर ६६९ रन जोडेको थियो । इंग्ल्यान्डले पहिलो इनिङ्समा ३११ रनको अग्रता लिएको थियो । दोस्रो इनिङ्समा भारतका लागि वासिंटन सुन्दर र रवीन्द्र जडेजाले पाँचौँ विकेटका लागि २०३ रनको साझेदारी गर्दै टेस्टलाई बराबरी गराए ।
दुवैले ५५.२ ओभरसम्म अविजित ब्याटिङ गरेका थिए । सुन्दरले २०६ बलमा १०१ रन बनाए । उनले नौ चौका र एक छक्का प्रहार गरे । जडेजाले १८५ बलमा १३ चौका र एक छक्का प्रहार गरी १०७ रनको योगदान दिए । दोस्रो इनिङ्समा भारतको सुरुवात खराब रह्यो । इनिङ्सको पहिलो ओभरमै भारतले दुई महत्वपूर्ण विकेट गुमाएको थियो ।
इनिङ्सको ०.४ ओभरमा यशस्वी जैसवाल र साई सुदर्शन शून्यमा आउट भए । भारतले दुई विकेट गुमाउँदा स्कोर बोर्डमा रन नै बनाएको थिएन । त्यसपछि लोकेश राहुल र कप्तान शुभमन गिलले तेस्रो विकेटका लागि १८८ रनको साझेदारी गरेका थिए । दोस्रो इनिङ्सको ९०.२ ओभरमा राहुलले आफ्नो विकेट गुमाए । उनले २३० बलमा आठ चौका प्रहार गरी ९० रन जोडे । त्यसपछि गिलले सुन्दरसँग चौथो विकेटका लागि ३४ रन बनाए । गिलले २३८ बल सामना गरी १०३ रन बनाए । उनले १२ चौका प्रहार गरेका थिए ।








