गुल्मी ।
गुल्मी जिल्लाको इस्मा गाउँपालिका–२ स्थित छल्दी फाँटका कृषकहरूलेसुक्खा खेतमै धान रोपेका छन् ।
पर्याप्त वर्षा नभएपछि कृषकहरुले मध्ये साउनमा कोदो रोपेझै हिलोबिनै धान रोपेका हुन् । सामान्यतया पानी पर्याप्त भएपछि धानलाई हिलोमा रोप्ने गरिन्छ । तर, यस वर्ष वर्षा हुन सकेन । बीउ सुक्न लाग्दा पनि वर्षा नभएपछि किसानले सुक्खामै रोपाइँ गरे ।
छल्दी फाँटका कृषक जंगबहादुर खत्रीले यसपालि पानी नपरेकोले बाध्य भएर धानलाई कोदो रोपेझैं रोप्नु परेको गुनासो गरे ।
बीउ सुक्न थालेपछि जसरी हुन्छ रोप्नु पर्छ भनेर कोदो रोपेझैं रोपेको अर्का कृषक प्रकाश थापाले बताए । यसरी रोपेको धान उत्पादनमा शतप्रतिशत गिरावट आउने प्रति कृषकहरु चिन्ति छन् ।
जमूना खत्री, नरबहादुर थापालगायतले सुक्खा ठाउँमै धानलाई रोपेका हुन् । छल्दी फाँटमा झडै ६० जनाको करिब ५०० भन्दा वढी रोपनी क्षेत्रफल रहेको छ ।
यस वर्ष बीउ सुक्न थालेपछि श्यामलाल श्रेष्ठ, टीका रेश्मी, पूर्णप्रसाद श्रेष्ठ, राजन कुँवर, यादव पाण्डे भविश्वर खत्री, लक्ष्मी थापालगायतले भने खोलाको पानी तानेर धान रोपाइँ गरेका छन् ।
भाडामा जेनेटर ल्याएर उनीहरुले छल्दी खोलाको पानी तानेर धान रोपाइँ गरेका हुन् । पानी तानेर धान रोपाइँ गरेपनि वर्षा नहुँदा उत्पादन घट्ने चिन्ता उनीहरुको छ ।