गृहपृष्ठ Featured अदालतद्वारा क्रिकेट संघका लुम्बिनी प्रदेश अध्यक्ष हटाउने निर्णय सदर

अदालतद्वारा क्रिकेट संघका लुम्बिनी प्रदेश अध्यक्ष हटाउने निर्णय सदर

लुम्बिनी प्रदेश क्रिकेट संघका तत्कालीन अध्यक्ष संजय गुरुङले अदालतमा पेस गरेको रिट निवेदन खारेज भएको छ । आफूलाई पदमुक्त गर्ने निर्णय कानुनविपरीत भएको भन्दै तत्कालीन अध्यक्ष गुरुङले अदालतमा दर्ता गरेको रिट निवेदन खारेज भएपछि उनी पदमुक्त भएका हुन् ।

 

२०८१ चैत्र २२ गते संघका उपाध्यक्ष विनय राजभण्डारी प्रस्तावक बस्दै ३१ जना प्रतिनिधिले हस्ताक्षर गरेर गुरुङविरुद्ध अविश्वासको प्रस्ताव नेपाल क्रिकेट संघ (क्यान)मा पठाएका थिए । क्यानको निर्देशनअनुसार गत जेठ ३ मा कपिलवस्तुको तौलिहवामा भएको विशेष साधारणसभाबाट गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका थिए ।

पदमुक्त गर्ने साधारणसभाको निर्णय, क्यानलगायत ६ जनालाई प्रतिवादी बनाउँदै गुरुङले उत्प्रेषण परमादेश माग गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासमा गत जेठ २५ मा रिट निवेदन दर्ता गराएका थिए ।

बुधबार उच्च अदालतका न्यायाशीध जगतबहादुर थापा र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले गुरुङको पक्षमा उत्प्रेषण परमादेश दिन अस्वीकार गर्दै रिट खारेज गरिदिएको छ । यससँगै लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभाले गुरुङलाई पदमुक्त गर्न गरेको निर्णय वैध ठहरिएको छ । यस्तै, संघले अध्यक्ष चयनका लागि अर्को साधारणसभा बोलाउने बाटो समेत खुलेको छ ।

गुरुङ पछिल्लो डेढ वर्षयता संघको प्रदेश अध्यक्ष थिए । लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यवाहक अध्यक्ष विनय राजभण्डारीले विशेष साधारणसभाले गरेको निर्णय अदालतले समेत वैध भनेकाले अब छिट्टै वार्षिक साधारणसभा गर्ने बताए ।

सम्बन्धित् समाचार