रुपन्देही ।
रुपन्देहीको सियारी गाउँपालिकाको छपियाको पुरानो पहिचान छोपिएको छ । पहिले बाँझो पल्टाउँदाको हलोको सियोमा फसल लाग्दा झुलेको धानको बालाले छपक्क हुने छपिया अहिले ती पहिचानबाट टाढिएर नयाँ बेग्लै पहिचानमा चिनिन्छ ।
जमिन बदलिएको छैन तर त्यहाँको जमिनमा कृषिको आधार फेरिएको छ । छपियाको अधिकांश जमिनमा पोखरी छन् । ती पोखरीमा किसानले गाउँको समृद्धि खोजिरहेका छन् । सियारी ३, ४ र ५ मा पर्ने छपियाका खेतका डिल पोखरीका किनारा बनेका छन्, जहाँ थुप्रै किसानले माछापालनबाट गाउँको मुहार नै बदलिदिएका छन् ।
भूगोलका दृष्टिले सामान्य देखिने यो गाउँको सफलताको कथा माछा उत्पादनमा आधारित छ । ग्रामीण जनजीवन, खेतबारी र परिश्रमबाट पन्पिएको यो गाउँ हाल देशकै उत्कृष्ट माछा उत्पादन केन्द्र बनेको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम माछा सुपर जोनका कृषि अधिकृत शोभाखर पाण्डेका अनुसार छपियामा मात्र अहिले करिब ३७५ हेक्टर क्षेत्रफलमा बर्सेनि दुई हजार पाँच सय मेट्रिक टनभन्दा बढी माछा उत्पादन हुन्छ । यसबाट प्रतिवर्ष ६५ करोड रुपियाँभन्दा बढी आम्दानी हुन्छ ।








