काठमाडौँ ।
अस्ट्रेलिया भ्रमणमा रहेको नेपालले त्यहाँ जारी ‘टप इन्ड टी-२०’ सिरिजमा लगातार दोस्रो खेलमा हार भोगेको छ। शनिबार भएको खेलमा नेपाल बंगलादेश ‘ए’सँग ३२ रनले पराजित भयो।
१ सय ८७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रन बनाउँदा अलआउट भयो। नेपालका लागि कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले पनि टिमको हार टार्न पर्याप्त रहेन।
मल्लले लगातार दोस्रो खेलमा टोलीका लागि सर्वाधिक रन बनाउने क्रममा ४७ बलमा ६ चौका र १ छक्कासहित अविजित ५९ रनको इनिङ्स खेले। त्यस्तै, नन्दन यादवले अविजित १४ रन बनाएका थिए।
नेपालका लागि आसिफ शेखले २४ बलमा समान एक छक्का र चौकाको सहयोगमा २८ रन बनाए।
त्यस्तै, ओपनर कुशल भुर्तेल १२ रन, लोकेश बमले १५, कप्तान रोहित पौडेल १०, करण केसी ७ रन र दीपेन्द्र सिंह ऐरी १ मा आउट भए। गुलशन झा खाता नखोली पेभिलियन फर्किँदा नेपाली इनिङ्स संकटमा परेको थियो। पुनः एकपटक नेपाली शीर्ष अर्डरले गतिलो साझेदारी गर्न सकेन।
बंगलादेश ‘ए’ का रकिबुल हसनले ३, हसन महमुदले २, रिपोन मण्डल र टोफेल अहमदले समान १ विकेट लिए। अष्ट्रेलियास्थित डार्विनको डिएक्ससी एरिनामा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो।
ओपनर जिसान अलामले अर्धशतक प्रहार गर्दै ७३ रनको योगदान दिए। उनले ४६ बल खेल्दै ४ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै, सैफ हसन ११ रन जोडेर रन आउट भए। उसका लागि आतिफ होसेनले उत्कृष्ट ब्याटिङ गर्दै २३ बलमा ९ चौकाको सहयोगमा अविजित ४८ रन बनाए।
नेपालका लागि रिजन ढकालले २ ओभरमा १९ रन दिएर २ विकेट लिँदा सन्दीप लामिछाने, करण र नन्दनले समान १-१ विकेट लिए।
नेपालको यो लगातार दोस्रो खेलमा हार हो। यसअघि पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो।
नेपालले पहिलो पटक यो प्रतियोगिता खेलेको हो। नेपालले लिग चरणमा कुल ६ खेल खेल्नेछ। यसपछि नेपालले मेलबर्न स्टार्स, होबार्ट हुरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तानको ‘ए’ टिमसँग प्रतिस्पर्धा गर्नेछ। त्यसलगतै नेपालले अस्ट्रेलियामै अर्को एउटा सिरिज खेल्ने तालिका रहेको छ।








