काठमाडौं ।
भारतको राज्य टोली आसामविरुद्धको दोस्रो खेलमा नेपाल ‘ए’ ले ९६ रनको सहज जित निकालेको छ । शुक्रबार गुवाहिटीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याउने क्रममा आसामले १५.२ ओभरमा सबै विकेट गुमाएर ७७ रनमात्र बनाउन सक्यो ।
आसामका रुहिनन्दन पेगुले १७ रन बनाए । शिवशंकर रोयले ६ र आकाश सेनगुप्ताले १० रन थपे । आसामलाई सस्तैमा समेट्न नेपालका बसिर अहमेद र युवराज खत्रीले समान तीन विकेट लिए । कमलसिंह ऐरी, आकाश चन्द र विवेक यादवले एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७३ रनको योगफल खडा गरेको थियो । नेपालका सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए । उनले ३२ बलमा एक चौका र तीन छक्का प्रहार गरे । यस्तै, पवन सराफ र ओपनर देव खनालले भने समान ३१ रन थपे । बसिर अहमेदले १६ बलमा एक चौका र दुई छक्कासहित २७ रन बनाए ।
आक्रामक ब्याटिङ गरेका विवेक यादवले आठ बलमा एक चौका र तीन छक्कासहित २६ रन जोडे । आदील आलम अन्सारीले १४ रन बनाए । आसामका आकाश सेनगुप्ताले तीन विकेट लिए । अभिनव चौधरीले दुई विकेट लिँदा आशुष्मान मालाकार र अभिलाश गोगोईले समान एक विकेट लिए ।
जितसँगै पाँच खेलको शृंखलामा नेपाल १–१ को बराबरी गरेको छ । नेपाल यसअघि पहिलो खेलमा डकवर्थ लेविस पद्दति (डीएलएस) अनुसार १५ रनले पराजित भएको थियो ।








