काठमाडौं ।
नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय रग्बी सिरिज काठमाडौंस्थित दशरथ रंगशालामा हुने भएको छ । बिहीबार आयोजक नेपाल रग्बी संघले पत्रकार सम्मेलनमार्फत दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय रग्बी सिरिज हुने जनाएको हो ।
संघका अनुसार, शृंखला आगामी भदौ २९ देखि ३१ (सेप्टेम्बर १४ देखि १५) गतेसम्म हुनेछ । शृंखलामा सेभेन्सका दुई र फिफ्टिन्सको एक गरी कुल तीन खेल सञ्चालन हुनेछन् ।
यसअघि, पहिलो संस्करण सन् २०२२ मा बंगलादेशको ढाकामा सम्पन्न भएको थियो ।
शृंखलाका निम्ति पाहुना टोली बंगलादेशको टिम आगामी भदौ २८ गते (सेप्टेम्बर १३) मा नेपाल आइपुग्ने संघले जनाएको छ । शृंखलाको अनुमानित बजेट ३५ लाख रुपैयाँ छ ।
प्रतियोगितामा विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । शृंखलामध्ये एक उत्कृष्ट खेलाडीलाई ट्रफीबाट पुरस्कृत गरिनेछ । उपविजेता टोलीलाई पनि मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने संघको भनाइ छ ।
शृंखलाको निम्ति हाल नेपाली टोली शीर्ष डिभिजन टिम सातदोबाटोस्थित चर्च ब्वाइज युनाइटेडको मैदानमा प्रशिक्षणरत छ ।








