वैखरी अनलाईन, बाणगंगा ।
बुधबारदेखि सुरु भएको “बाणगंगा कप २०८२” क्रिकेट प्रतियोगितामा बुद्धभूमि युथ सोसाईटीले विजयी सुरुवात गरेको छ । आज विहिबार भएको खेलमा बाणगंगा स्पोटर्स क्लवलाई ३० रनले पराजित गर्दै बुद्धभूमिले विजयी सुरुवात गरेको हो ।
खेल संयोजक विक्रम घिमिरेका अनुसार टस जितेर पहिले ब्याटिङ्ग गरेको बुद्धभूमिले निर्धारित १२ ओभरमा १०४ रनको लक्ष्य खडा गरेको थियो । जवाफी ब्याटिङ्ग गरेको बाणगंगा स्पोटर्स ७३ रनमै समेटियो ।
बुद्धभूमिको जितमा ४२ रन र १ विकेट लिएका निशान्त थापा ‘म्यान अफ द म्याच’ घोषित भए । थापालाई बाणगंगाका युवा समाजसेवी पंकज पाण्डेले ‘म्यान अफ द म्याच’ को पुरस्कार राशी हस्तान्तरण गर्नुभएको थियो ।
खेल संयोजक घिमिरेले शुक्रबार २ खेल हुने तालिका रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो खेल दिउँसो १ बजे थापा ब्राण्ड र फिजा क्रिक्रेट क्लव तथा दोस्रो खेल दिउँसो ३ बजे कपिलवस्तु सर्भेयरबीच हुने छ ।
घिमिरेले शुक्रबारका खेलहरु निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक हुने भएकाले सबै खेलप्रेमीहरुलाई खेल अवलोकनका लागि बाणगंगा नगरपालिका–४, जितपुरस्थित बुद्ध रंगशालामा आउन आग्रह समेत गरेका छन् ।
बुधबारदेखि ९० ’स वारियर्स क्रिक्रेट क्लवको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
५ हजार १११ रुपैयाँ प्रवेश शुल्क तोकिएको यस प्रतियोगिताको विजेताले नगद ५१ हजार १११ रुपैयाँ र उपविजेताले ३१ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन् ।
यस प्रतियोगिता आयोजनामा बाणगंगा स्पोट्र्स क्लबले सहयोगी भूमिका निर्वाह गरेको छ ।








