काठमाडौं ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बर्न्लीविरुद्ध ५–१ को सहज जित निकालेको छ ।
शनिबार राति घरेलु मैदानमा सिटीलाई जित दिलाउन हाल्यान्डले दुई गोल गरे । म्याथ्युस नुनेजले एक गोल थपे । सिटीले अरू दुई गोल भने आत्मघाती उपहार पाएको थियो । पाहुना टिमका जाइदोन एन्थोनीले एक गोल फर्काए ।
१२औँ मिनेटमा बर्न्लीका म्याक्सिम स्टिभबाट भएको आत्मघाती गोलमार्फत सिटीले अग्रता बनाएको थियो । तर, ३९औँ मिनेटमा एन्थोनीले गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काए । ६१औँ मिनेटमा नुनेजको गोलमा सिटीले पुनः २–१ को अग्रता बनायो । त्यसको चार मिनेटपछि म्याक्सिम स्टिभबाटै अर्को आत्मघाती गोल उपहार पाएपछि सिटी ३–१ ले अघि रह्यो ।
९०औँ र इन्ज्युरी समयमा गरी हाल्यान्डले दुई गोल थपेपछि सिटीले सहज जित पक्का गरेको हो ।
जितसँगै ६ खेलबाट १० अंक जोडेको सिटी तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंकको बर्न्ली १७औँ स्थानमा छ ।
लिभरपुल स्तब्ध
प्रिमियर लिगअन्तर्गत शनिबार नै भएको अर्को खेलमा लिग लिडर लिभरपुललाई क्रिस्टल प्यालेसले स्तब्ध बनाएको छ ।
घरेलु मैदानमा प्यालेसलाई जित दिलाउन इस्मालिया सार र एडी एनकेटिहले गोल गरे । लिभरपुलका फेडेरिको किएजाले एक गोल फर्काएका थिए ।
हारका बाबजुद ६ खेलबाट १५ अंकको लिभरपुल तालिकाको शीर्ष स्थानमा छ । जारी सिजन लिभरपुलको यो पहिलो हार समेत हो । समान खेलबाट १२ अंक जोडेको प्यालेस दोस्रो स्थानमा छ ।








