अविरल वर्षासँगै मोरङका विभिन्न खोलामा आएको बाढी बस्तीमा पस्दा केही परिवार विस्थापित भएका छन् भने मानवीय क्षति भएको छैन ।
बाढीबाट सबैभन्दा बढी घर परिवार विस्थापित विराटनगर महानगरपालिकाका रहेको मोरङ प्रहरीले जनाएको छ । विराटनगरको पूर्व र पश्चिम क्षेत्र हुँदै बग्ने सिंघिया र केसलिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७६ परिवार विस्थापित भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार यस बाहेक जिल्लाका अन्य स्थानमा त्यस्तो संख्यामा विस्थापित नभएको र हालसम्म मानवीय क्षति भएको छैन ।
प्राकृति विपद्बारे पूर्व जानकारी भएको हुँदा हामीले हाम्रासबै प्रहरी युनिटलाई सजक र तैनाथी अवस्थामा राखेका थियौं, डिएसपी चुँडालले भनिन्, ‘जिल्लाका हरेक युनिटका प्रहरीहरु सक्रियताका साथ बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण गर्नका लागि खटिएका छन् । प्रहरीले बाढीबाट विस्थापित भएकालाई सुरक्षित स्थानमा सार्ने, घरमा भएका सरसामान, चौपायालगायत महत्वपूर्ण वस्तुहरुलाई सकेसम्म सुरक्षित राख्ने काम गरिरहेका छन् । नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सहयोग गरेका छन् । बाढीबाट विस्थापित भए पनि उहाँ सुरक्षित स्थानमा हुनुहुन्छ । हामीसँग भएका साधनस्रोतको प्रयोग गरी काम भइरहेको छ ।’
केसलिया खोलामा आएको बाढी विराटनगर– १२ बखरीको सम्पन्न बस्तीमा पस्दा ७५ घरका ३५० जना विस्थापित भएका छन् । उनीहरूलाई बखरी आधारभूत विद्यालय र नयाँ बन्दै गरेको उद्योगमा राखिएको छ । विराटनगर– ५ शंकरबारी टोलमा केसलिया खोलाको बाढी २० वटा घरमा पसेको छ । त्यो घरका परिवारका ७० जना आफन्तको घरमा शरण लिएका छन् ।
सिंघिया खोलामा आएको बाढी विराटनगर–२ पूर्वटोलामा पस्दा ३५ घर डुबानमा परे । ती घरका १५० जनालाई सुरक्षित स्थानमा सारिएको छ । विराटनगर–८ को सुकुम्बासी बस्तीमा सिंघिया पस्दा ११ घरका ४० जना विस्थापित भए भने उनीहरु आफै सुरक्षित स्थानमा सरेका छन् ।