रुपन्देही ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ४ जना विज्ञ तथा दुई जना सल्लाहकार गरी ६ जनालाई बिदा गरेका छन् ।
‘प्रदेश सरकारले सुरुमै पूर्व विशिष्टहरुको सेवा रोक्ने निर्णय गरेर कार्यान्वयन गरेको हो, यसले राम्रो सन्देश दिएको थियो, प्रदेशका कामलाई विधागत रुपमा सहज बनाउन विज्ञ र सल्लाहकार राखिएको थियो तर अब यी खर्च कम गर्ने उद्देश्ले उहाँहरुसँगकै सहमतिमा हटाइएको हो, १५ दिन भइसक्यो बिदा गरेको, उहाँहरुलाई धन्यवादसहित बिदाई पत्र पनि बुझइसकेका छौं । बिदाईसहित धन्यवाद पत्र पाइसकेका छन्, ’ आचार्यले भने ।
अहिले मुख्यमन्त्री हटाएमध्ये राजनीतिक सल्लाहकार लक्ष्मणराज ज्ञवाली, जनसम्पर्क सल्लाहकार रामबहादुर राउत, विज्ञहरूः इश्वरीप्रसाद अर्याल (अर्थ), जीवन अर्याल (पूर्वाधार), युवराज घिमिरे (ग्रामीण विकास), दलबहादुर गुरुङ (शिक्षा) रहेका छन् ।
राजनीतिक सल्लाहकार ज्ञवालीले राज्यमन्त्रीसरह मासिक ८० हजार ८४० रुपैयाँ तलब बुझेका थिए। यसबाहेक उनले एकजना स्वकीय सहायक, एक कार्यालय सहयोगी र एक सवारी चालकसमेत नियुक्त गर्न पाएका थिए। राउतले सहायक मन्त्रीसरह मासिक ६४ हजार ८०० रुपैयाँ सुविधा पाएका थिए उनले पनि छुट्टै ३ जना कर्मचारी नियुक्त गर्न पाउने सुविधा थियो । विज्ञहरूः ईश्वरीप्रसाद अर्याल (अर्थ), जीवन अर्याल (पूर्वाधार), युवराज घिमिरे (ग्रामीण विकास), दलबहादुर गुरुङ (शिक्षा) सबैले मासिक ६०,४९० रुपैयाँ तलब पाएका थिए ।
शिक्षा विज्ञ गुरुङले आफूसहित ६ जनाले सहमतिमै बिदा लिएको र प्रदेश सरकारको तर्फबाट बिदाई पत्रसमेत पाइसकेको जनाए ।








