गृहपृष्ठ Featured जेनजी प्रदर्शनका घाइते : ‘हाम्रो रगतमाथि राजनीति भयो, अलपत्र पारियो’

जेनजी प्रदर्शनका घाइते : ‘हाम्रो रगतमाथि राजनीति भयो, अलपत्र पारियो’

काठमाडौं ।

जेनजी प्रदर्शनका क्रममा भदौ २३ गते नयाँ बानेश्वर पुगेका काभ्रेका २२ वर्षीय कमल घिमिरेको छातीमा गोली लाग्यो । उनी त्यसयता काठमाडौं मेडिकल कलेजको आईसीयूमै छन् ।

उनका काका प्राणनाथ घिमिरेका अनुसार, गोलीले फोक्सो नै ‘ड्यामेज’ बनाएको छ ।

“बाबुको जीवन बेडमै सुताएरै जाने अवस्था छ । छातीमा लागेको गोलीले फोक्सो ड्यामेज बनाइदिएको छ । राज्यले पनि उसको जीवन फिर्ता ल्याउन अब केही गर्न सक्दैन,” उनले भने ।

उनका अनुसार, ऊर्जामन्त्री कुलमान घिसिङ अस्पतालमै पुगेर भेटेका थिए । महिना दिन पुग्न लाग्दा पनि भ्रष्टाचारीहरूलाई जेल हाल्न नसकेकामा आफूलाई दुःख लागेको उनले बताए ।

“सयौँ योद्धाहरूले परिवर्तन निम्ति रगत बगाए । नयाँ सरकारले भ्रष्टाचारीहरूलाई जेल कोच्न सकेको छैन,” उनले भने ।

आफू पीडामा हुँदा पनि पहिलेको सरकारले भन्दा यो सरकारले आशा जगाएको उनको भनाइ छ । उनले भने, “सरकार पुरानो जस्तो छैन भन्ने कुरा अनुभूति भएको छ ।”

बिरामीको उपचारका लागि राज्यतर्फबाट मौखिक जानकारी मात्रै आएको उनले बताए ।

“बिरामीको उपचारमा पैसा लाग्ने भनी अस्पतालले लिखित सूचना टाँस गरेको छ । तर सरकारले मौखिक जानकारी दिएको छ । रगत बाहिर हुने जाँचहरू आफ्नै खर्चमा गरिरहेका छौँ,” उनले भने ।

त्यस्तै, सिरहाका २२ वर्षीय अमनकुमार महतो पनि जेनजी प्रदर्शनका क्रममा बानेश्वर पुगेका थिए । प्रदर्शनका क्रममा उनको घाँटीलगायत तीन ठाउँमा रबरको गोली र ‘मेटल’ लागेर गम्भीर घाइते भए ।

उनको केएमसी अस्पतालमा अपरेशन भयो । हाल उनी काठमाडौंको कोटेश्वरमा आराम गरिरहेका छन् । उनीहरूले जेनजीहरूको माग मुद्दालाई बेवास्ता गरेर राजनीतिक खेल चलिरहेको गुनासो गरेका छन् । राज्यको बेवास्ताले आफूहरू अलपत्र परेको समेत उनले बताएका छन् ।

उनी भन्छन्, “जुन मागहरू लिएर हामी सडकमा पुगेका थियौँ, ती पूरा हुन सकेनन् । हाम्रो रगतमाथि राजनीति भयो । अस्पतालमा सरकारतर्फबाट कोही पनि भेट्न आएनन् । हामीलाई अलपत्र पारियो ।”

हालसम्म २० हजार रुपैयाँ राहतबाहेक केही नपाएको उनले बताए । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका र घाइते भएकाहरूले न्याय नपाएको पनि उनले बताए ।

“सबैभन्दा पहिला हामीलाई न्याय दिनुपर्‍यो । हामी कोठाबाट बाहिर निस्किन नसकेर हो वा के भएर हो, हाम्रा मागहरू कसैले पनि उठाएन । सुधन गुरुङ को हुन् ? एक पटक पनि अस्पतालमा भेट्न आएनन्,” उनले भने ।

त्यस्तै, बझाङका २१ वर्षीय कपिल बोहोरालाई पनि जेनजी प्रदर्शनका क्रममा गोली लागेको थियो । केएमसी अस्पतालमा उपचारपछि उनी पनि सुन्धारास्थित कोठामा आराम गरिरहेका छन् ।

उनी भन्छन्, “परिवर्तनका लागि योद्धाहरूले रगत बगाए, तर उपलब्धि शून्य भयो । हामी घाइतेहरू बेडमै छौँ । हामीले भनेको कसैले सुन्दैन । कतै पनि केही लाग्दैन । राम्रोसँग सरकार त बन्न सकेको छैन, परिवर्तनको के अपेक्षा गर्ने ?”

राज्यतर्फबाट आफूहरूलाई पूर्ण रूपमा बेवास्ता गरेको उनले बताए ।

डोटीका २७ वर्षीय दिपेश बेलाल पनि त्यही प्रदर्शनका क्रममा घाइते भएका थिए । उनी केएमसी अस्पतालमा उपचार गरेर कोठामा फर्किएका छन् । उनी भने देशमा परिवर्तन हुनेमा आशावादी छन् ।

“देश र जनताका लागि त्यो प्रदर्शन आवश्यक थियो, भयो पनि । अब विस्तारै परिवर्तन हुँदै जाला । तर यसअघिका ठूला नेताहरूले जनताको शक्ति कति हुन्छ भन्ने कुरा बुझेँ । देखेँ । अब चुनावमा उनीहरूलाई कसरी मुख देखाउने भन्ने पनि चुनौती छ । अब चुनावले नयाँ नेतृत्व ल्याएर आमूल परिवर्तन आउनुपर्छ,” उनले भने ।

“जेनजी प्रदर्शन राम्रैका लागि भएको थियो । अब पुराना नेताहरू नआउनु भन्ने चाहना हो,” जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका रुपन्देहीका कृष्ण रुचाल भन्छन्, “अब हुने चुनावमा पुराना नेताहरू आउनु भएन ।”

उनी केएमसी अस्पतालमा उपचारपछि हाल गाउँमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, अझै पनि विभिन्न अस्पतालहरूमा जेनजी प्रदर्शनका ३० जनाको उपचार जारी छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, त्रिवि शिक्षण अस्पतालमा ५, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३, बीएन्डबी अस्पतालमा ३, नेपाल प्रहरी अस्पतालमा १, सिभिल अस्पतालमा १ र कीर्तिपुर अस्पतालमा १ घाइतेको उपचार भइरहेको छ ।

सम्बन्धित् समाचार