गृहपृष्ठ Featured एनपीएल उद्घाटन खेल घरमै बसेर हेर्न क्यानको आग्रह

एनपीएल उद्घाटन खेल घरमै बसेर हेर्न क्यानको आग्रह

नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेल घरमै बसेर हेर्न नेपाल क्रिकेट संघ (क्यान)ले आग्रह गरेको छ।

क्यानका सचिव पारश खड्काले भिडिओ सन्देश जारी गर्दै उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गरेका हुन्। खड्काले भनेका छन्, ‘सबै टिकट बिक्री भइसकेको तथा पहिलो दिन सधैं चाप बढी हुने भएकाले टिकट नपाउनुभएका सबैले घरमै बसेर खेल हेरी सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं।’

एनपीएलका टिकट खल्ती मार्फत बिक्री भइरहेको छ। क्यानले आठ हजार मात्रै टिकट बिक्री गर्न दिएको छ। करीब दुई हजार जति टिकट खेलाडीका परिवारजन, आयोजक र प्रायोजकका लागि राखेको छ।

उद्घाटन खेलको टिकट शुक्रबार खुला गरिएको थियो। केही घण्टामै सबै टिकट बिक्री भएका थिए। एनपीएलमा साधारण टिकटको मूल्य उद्घाटन खेल र अन्य दिनको खेलका लागि पाँच सय रुपैयाँ तोकिएको छ। प्ले अफ र फाइनल खेलका लागि भने साधारण टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै, प्रिमियम टिकटको मूल्य उद्घाटन खेल र शनिबारका लागि एक हजार पाँच सय तोकिएको छ। अन्य दिनको खेल हेर्न भने प्रिमियर टिकटको मूल्य एक हजार रुपैयाँ रहेको छ। प्ले अफ र फाइनल खेलमा भने प्रिमियर टिकटको मूल्य दुई हजार रुपैयाँ तोकिएको छ।

उद्घाटन खेलका लागि साधारणसँगै प्रिमियर टिकट सबै बिक्री भइसकेको क्यानका महासचिव खड्काले बताए। त्यसैले टिकट नपाएका खेलप्रेमीलाई घरमै बसेर खेल हेर्न आग्रह गरेका छन्।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदै छ। उद्घाटन खेल जनकपुर बोल्टस् र काठमान्डू गोर्खाजबीच सोमबार अपराह्न ४ बजे हुनेछ।

सम्बन्धित् समाचार