गृहपृष्ठ अर्थ/वाणिज्य झन्डै २०० कन्टेनर सामान ५ महिनादेखि केरुङ नाकामा थन्कियाे

झन्डै २०० कन्टेनर सामान ५ महिनादेखि केरुङ नाकामा थन्कियाे

फाइल तस्वीर

काठमाण्डाै – पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयातमा समस्या परेको छ । गएको असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीमा रहेको मितेरी पुल बगाएपछि केरुङ नाका बन्द छ ।

व्यापारीहरूले दशैँ, तिहार लगायतका चाडपर्वलाई केन्द्रित गरेर ल्याएका लत्ताकपडा तथा अन्य सामग्री पाँच महिनादेखि नाकामै अलपत्र अवस्थामा रहेको छ । केरुङ नाकामा झन्डै दुई सय कन्टेनर सामान थन्किएको राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठ बताउनुभयो ।

सिन्धुपाल्चोकको तातोपानी नाका अहिले फाट्टफुट्ट मात्रै सञ्चालनमा छ । वर्षाका कारण अरनिको राजमार्ग बन्द हुँदा रोकिएको नाका तिहारपछि राम्रोसँग सञ्चालनमा आएको हो ।

केरुङ नाका बन्द र तातोपानी नाका राम्रोसँग सञ्चालन नहुँदा केही व्यवसायीहरूले महँगाे ढुवानी तिरेर मुस्ताङको कोरोला नाका हुँदै सामान आयात गर्नुपरेको सङ्घका पूर्वअध्यक्ष श्रेष्ठको भनाइ छ ।

कोरोला नाकाबाट सामान ढुवानी गर्ने गाडीका लागि दैनिक चार/पाँच वटाको मात्रै चीन प्रवेशको पास उपलब्ध भइरहेको व्यापारीहरूको गुनासो छ । कोरोला नाकाबाट ल्याएको सामान मुस्ताङ, पोखरा हुँदै काठमाण्डाै ल्याउनुपर्ने बाध्यता छ । अहिले चिसोका कारण कोरोला नाका पनि बन्द छ ।

चीनबाट सामान आयातका लागि केरुङ नाका सक्दो चाँडो खोल्नुपर्ने नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले बताउनुभयो ।

चीनबाट नेपालमा लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक्स, फलफूल, गाडीको पार्ट्स लगायत आयात हुँदै आएको छ ।

सम्बन्धित् समाचार