वैखरी अनलाईन,, बाणगंगा ।
लोकसंस्कृतिको सुगन्ध र आधुनिक प्रस्तुतीकरणको सन्तुलित संयोजन बोकेको नयाँ लोकगीत ‘झुटो हैन सुनकेशरी’ सार्वजनिक गरिएको छ। नेत्र अर्यालको भावपूर्ण शब्द, खेम सेन्चुरीको कर्णप्रिय संगीत तथा खेम सेन्चुरी र दीपिका बयम्बु मगरको सुमधुर आवाजले गीतलाई अझ आकर्षक बनाएको छ।
बिनोद भण्डारीको निर्देशनमा तयार भएको गीतको भिडियो मोडल असिम कडेल क्षेत्रीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा नारायणी खत्री र असिम कडेल क्षेत्रीको जीवन्त अभिनयले कथालाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ।
गीतले मौलिक लोकभावनालाई आत्मसात् गर्दै आधुनिक शैलीको संयोजनमार्फत नयाँ पुस्तादेखि पुराना लोकप्रेमीसम्मलाई आकर्षित गर्ने प्रयास गरेको छ। गीत–संगीत केवल मनोरञ्जन मात्र नभई नेपाली कला, संस्कृति संरक्षण तथा देशको सौन्दर्यता र पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यम भएको मोडल असिम कडेल क्षेत्रीको भनाइ छ।
हाल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान, कपिलवस्तुका अध्यक्ष समेत रहेका कडेल यसअघि पनि थुप्रै चर्चित गीतहरूमा अभिनय गरिसक्नुभएको छ। उहाँले ‘झुटो हैन सुनकेशरी’ले पनि दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने विश्वास व्यक्त गर्नुभएको छ।
गीत निर्माण टिमले दर्शक तथा शुभेच्छुकहरूलाई गीत अवलोकन गरी प्रतिक्रिया, सल्लाह र सुझाव दिन आग्रह गरेको छ।
आगामी दिनमा अझ स्तरीय र सशक्त सिर्जना प्रस्तुत गर्ने उद्देश्यले निर्माण पक्षले दर्शकको सक्रिय सहभागिताको अपेक्षा गरेको जनाएको छ।








