गृहपृष्ठ खबर कनौडियाले भने- ‘पार्टी फुट्ने अवस्था आउन थालेपछि हस्ताक्षर फिर्ता लिएँ’

कनौडियाले भने- ‘पार्टी फुट्ने अवस्था आउन थालेपछि हस्ताक्षर फिर्ता लिएँ’

नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका कपिलवस्तुका कांग्रेस नेता वीरेन्द्र कुमार कनौडियाले पार्टी फुट्ने अवस्था आएको भन्दै हस्ताक्षर फिर्ता लिएका छन् ।

विशेष महाधिवेशन आह्वान गर्दै देशभर पार्टीभित्र चलिरहेको बेला हस्ताक्षर गरेका कनौडियाले हालै आफ्नो हस्ताक्षर फिर्ता लिएको पार्टीका कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई सम्बोधन गर्दै जनाएका हुन् ।

हस्ताक्षर फिर्ता लिएपछि कनौडियाले आफ्नो कुनै स्वार्थ नभएको, विशेष महाधिवेशन गर्दा पार्टी फुट्ने सम्भावना रहेको र कार्यकर्ताको चाहनाअनुसार हस्ताक्षर फिर्ता लिएको प्रतिक्रिया दिएका छन्

उनले भने, ‘मेरो कुनै स्वार्थ छैन तर केन्द्रमा दुई समूहको लडाइँले गर्दा पार्टी नै फुट्न सक्ने भएकोले मजस्ता वर्षौंदेखि कांग्रेसमा लागेका कार्यकर्तासमेतलाई असर पर्ने भएकोले फिर्ता लिएको हुँ ।’

उनले दुई समूहको आपसी द्वन्द्वले कांग्रेसका लाखौँ कार्यकर्ता निराश भएको बताए । उनले पार्टीको मायाले गर्दा विशेष महाधिवेशनका लागि गरेको हस्ताक्षर फिर्ता गरेको दोहोर्‍याए ।

कनौडिया कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेदवारको लागि सिफारिस भएका नेता हुन् । उनी यसअघि लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतासमेत भएका थिए ।

सम्बन्धित् समाचार