काठमाडौँ – कांग्रेस महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।
आइतबार काठमाडौँमा आयोजित विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले सभापति देउवालाई भदौ २५ गते नै आफूहरुले आराम गर्न आग्रहको स्मरण गराए।
उनले पार्टीबाट बिदा भइसकेको अवस्थामा पनि केही नेताको कुरा सुनेर पुनः सक्रिय हुनु उचित नभएको उल्लेख गरे।
सभापति देउवालाई चेतावनीयुक्त भाषामा थापाले भृकुटीमण्डपबाट भने, ‘तपाईंलाई घरमा आएर भेटेर दाइ, यो देशमा प्रजातन्त्रको लागि तपाईंको ठूलो योगदान छ। तर, समय आएको छ, अब तपाईंले छाड्दिनु पर्छ। समय आएको छ, अब तपाईंले आराम गर्नुपर्छ। समय आएको छ, तपाईंले अब मार्गप्रशस्त गर्दिनु पर्छ।’
थापाले विशेष महाधिवेशनले के निर्णय गर्छ भन्ने कुरा निश्चित नभएको उल्लेख गर्दै अझै समय रहेकाले भोलि बिहानको बन्दसत्रमा आउन सभापति देउवालाई आग्रह गरे। घुमाउरो रुपमा थापाले बहुमत प्रतिनिधिहरु आफ्नो पक्षमा भएकोले राजीनामा वा विशेष महाधिवेशन स्वीकार नगरे नेतृत्वबाट हटाउने चेताववी दिए।
थापाले भने, ‘यो महाधिवेशन कहाँ गएर टुंगिन्छ थाहा छैन। केन्द्रीय कमिटीले आयोजना गरेको होइन, तलबाट माग भएको हो। नीति पनि, नेता पनि बदल्ने भनेर विशेष महाधिवेशन माग गरिएको हो। म पनि बोलाएर मात्रै आएको हुँ। महाधिवेशनको हलले जे स्वीकार गर्छ त्यसलाई हामीले मान्नु पर्छ। जहाँ लगेर टुंग्याउनुहुन्छ। हामी मान्छौँ।’







