गृहपृष्ठ Featured कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै

कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – नेपाली कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीच सहमतिको प्रयास शुरु भएको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेपछि संस्थापन पक्षले संवाद थालेको हो ।

विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षसँग वार्ताका लागि प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे रहेको समिति बनाएको छ । संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँणले छलफल गरिरहनुभएको छ ।

काठमाण्डौको भृकुटीमण्डपमा अस्तिदेखि शुरु भएको विशेष महाधिवेशन अन्तर्गत आज पनि बन्दसत्र हुँदैछ । हिजो बन्दसत्र शुरु भएपछि विभिन्न प्रतिवेदन पेश भएका छन् । ती प्रतिवेदनमा छलफल नसकिएपछि महाधिवेशनलाई आजसम्म लम्बाइएको छ ।

विशेष महाधिवेशन पक्षले सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई बोलाए पनि उहाँहरु भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनमा उपस्थित हुनुभएको छैन । संस्थापन पक्षको आह्वानमा आज केन्द्रीय कार्यसमितिको बैठक पनि बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बिहान ११ बजे बस्ने बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुनेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । तर विशेष महाधिवेशन पक्षधर नेताहरु भने कार्यसमितिको बैठकमा उपस्थित नहुने भएका छन् ।

सम्बन्धित् समाचार