तस्वीर : राेयटर्स
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड कब्जा गर्ने धम्की नछाडेपछि डेनमार्क र उसका सहयोगीहरूले अभ्यासको तयारी गरिरहेका बेला फ्रान्स र जर्मनीका सैन्य कर्मचारीहरू ग्रीनल्यान्ड पुग्न थालेका छन् ।
वाशिङ्गटनमा अमेरिका, डेनमार्क र ग्रीनल्यान्डका अधिकारीहरूबीच भएको उच्चस्तरीय बैठकले समस्या समाधान गर्न नसकेको केही समयपछि सैन्य तैनाथी शुरू भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
ट्रम्पले रणनीतिक रूपमा रहेको र खनिजले भरिपूर्ण ग्रीनल्यान्ड अमेरिकी सुरक्षाका लागि महत्त्वपूर्ण रहेको र रुस वा चीनले कब्जा गर्नबाट रोक्नका लागि अमेरिकाले यसको स्वामित्व लिनुपर्ने बताउनुभएको छ ।
उहाँले डेनमार्कको स्वायत्त क्षेत्र भएको क्षेत्र सुरक्षित गर्न सबै विकल्पहरू टेबलमा रहेको दाबी गर्नुभएको छ । डेनमार्क आर्कटिक क्षेत्रमा रुसी र चिनियाँ प्रभावलाई रोक्न सक्षम नरहेको अमेरिकी राष्ट्रपति ट्रम्पको तर्क छ ।
ग्रीनल्यान्ड र डेनमार्कले टापु बिक्रीका लागि नभएको, बल प्रयोगको धम्की लापर्बाहीपूर्ण भएको र सहयोगीहरूले सुरक्षा चिन्ताहरू समाधान गर्नुपर्ने बताएका छन् ।
प्रमुख युरोपेली सङ्घका देशहरूले डेनमार्कलाई समर्थन गरेका छन् र धेरै नेताहरूले ग्रीनल्यान्डमा अमेरिकी सैन्य तैनाथ भएमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को अन्त्य हुन सक्ने चेतावनी दिएका छन् ।
वाशिङ्गटनको बैठकअघि ग्रीनल्यान्ड र डेनमार्कले आर्कटिक रक्षालाई सुदृढ पार्ने आफ्नो वाचाको एक भागका रूपमा नेटो सहयोगीहरूसँग नजिकको सहकार्यमा टापु र वरपर आफ्नो सैन्य उपस्थिति बढाउन थालेको बताएका थिए ।








