गृहपृष्ठ अन्तरास्ट्रिय खबर चीनद्वारा ‘इन्टरनेट उपग्रह समूह’ सफलतापूर्वक प्रक्षेपण

चीनद्वारा ‘इन्टरनेट उपग्रह समूह’ सफलतापूर्वक प्रक्षेपण

चीनले दक्षिणी द्वीप प्रान्त हैनानबाट लङ मार्च–१२ रकेट प्रक्षेपण गर्दै ‘इन्टरनेट उपग्रहहरूको १९औँ समूह’ अन्तरिक्षमा पठाएको छ । हैनानमा रहेको व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण केन्द्रबाट प्रक्षेपित रकेटले उपग्रहहरूलाई निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको चिनियाँ अन्तरिक्ष निकायले जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

यो सन् २०२६ मा चीनको इन्टरनेट उपग्रह कन्ष्टेलेसन अन्तर्गत भएको दोस्रो प्रक्षेपण हो । यसअघि ६ दिनअघि त्यही ठाउँबाट १८औँ समूहका उपग्रहहरू प्रक्षेपण गरिएको थियो । चीनको १५औँ पञ्चवर्षीय योजना (सन् २०२६–२०३०) अन्तर्गत अन्तरिक्ष क्षेत्रलाई देशको औद्योगिक प्रणाली र वास्तविक अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा मानिएको छ ।

उच्च कार्यक्षमता, बजारमुखी नवप्रवर्तन र ठूलो मात्रामा उत्पादन क्षमता भएका व्यावसायिक अन्तरिक्ष कम्पनीहरूले चीनको अन्तरिक्ष विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन् ।

सोमवार प्रक्षेपित उपग्रहहरू बेइजिङमा रहेको व्यावसायिक कम्पनी ग्यालेक्सीस्पेसले विकास गरेको हो । कम्पनीले अहिलेसम्म स्टारलिङ्क–जस्तै उपग्रह सञ्जाल निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

सम्बन्धित् समाचार