दाङ- लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची अनुसार प्रदेश सभा सदस्यको स्थान रिक्त सम्बन्धी जानकारी सभामुख तुलाराम घर्तीमगरले सभामा जानकारी गराउने छन् ।
यस्तै प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष सम्बोधन गर्ने, जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूची रहेको छ ।
त्यसैगरी मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गर्ने र सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
पहिलो बैठक बसेको झण्डै दुई महिनापछि प्रदेश सभाको दोस्रो बैठक बस्न लागेको हो । पहिलो बैठक मंसिर ८ गते बसेको थियो ।








