गृहपृष्ठ Featured बेथितिबाट भाग्ने होइन, डटेर सामना गर्ने होः प्रधानमन्त्री कार्की

बेथितिबाट भाग्ने होइन, डटेर सामना गर्ने होः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले देशमा विद्यमान संकटहरूको डटेर सामना गर्नुपर्ने बताएकी छन्।

आइतबार काठमाडौंमा आयोजित नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा बोल्दै उनले सो कुरा बताएकी हुन्।

प्रधानमन्त्री कार्कीले देशमा देखिएका बेथितिहरूको अन्त्यका लागि डटेर अघि बढ्नुपर्ने बेला आएको स्पष्ट पारिन्। त्यस अवसरमा उनले राष्ट्र निर्माणमा जुट्न पनि शैक्षिक जनशक्तिलाई आग्रह गरिन्।

विश्वविद्यालयबाट आर्जन गरेका ज्ञान र सीप स्वदेशमा नै भरपुर उपयोग गरेर उच्च शिक्षा हासिल गरेकाहरू राष्ट्र निर्माणको अभियानमा केन्द्रित हुनुपर्ने प्रधानमन्त्री कार्कीको भनाई थियो।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘हाम्रा उच्च शिक्षा प्रदायक संस्थाहरू सबै अझै गतिशील हुन जरुरी छ। यस खुला विश्वविद्यालयले समयको गति र प्रवाहलाई आत्मसात गर्दै विश्वव्यापी ज्ञान र रैथाने ज्ञानलाई समावेश गरी शिक्षण सिकाई क्रियाकलापलाई सञ्चालन गर्न सकोस्। तपाईहरुले विश्वविद्यालयबाट आर्जन गरेको ज्ञान र सीप आफ्नो व्यक्तिगत तथा राष्ट्र निर्माणमा भरपुर सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु।’

उनले उच्च शिक्षा हासिल गरेर बाह्य मुलुकमा गएका विद्यार्थीहरूले राष्ट्रले गर्व गर्न लायक नागरिक भएर अघि बढ्नुपर्ने बताइन्। उनले उच्च शिक्षा प्रदायक संस्थाहरूलाई अझै गतिशील भएर अघि बढ्न पनि सचेत गराइन्।

उनले थपिन्, ‘यो देश हाम्रो हो। हामी आफैंले बनाउने हो। हामीले नै देशलाई बस्न लायक बनाउने हो। हामीले नबनाए कस्ले आएर बनाइदिने हो र। यहाँका तमाम बेथितिबाट भाग्ने होइन। हामी आफैले डटेर सामना गर्नुपर्दछ। आफू बसेको ठाउँ आफैँले सफा गर्नुपर्दछ। तसर्थ, यहाँहरु सकेसम्म नेपालमा नै केही गर्नुहोस्। नेपालमा नै अवसरहरुको पहिचान गर्नुहोस्। अवसर नभएका ठाउँमा नयाँ अवसरहरुको सृजना गर्नुहोस्। र जहाँ गएपनि नेपालले गर्व गर्नसक्ने नागरिक भएर अघि बढ्नुहोस्।’

प्रधानमन्त्री कार्कीले कार्कीले खुला विश्वविद्यालयले समयको गति र प्रवाहलाई आत्मासात गर्दै अघि बढ्नुपर्ने समेत बताइन्।

सम्बन्धित् समाचार