प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आज (शुक्रबार) बिहानै सहिद दिवसको शुभकामना दिँदै फेरि कसैले सहिद बन्न नपरोस् भन्ने कामना गरेका छन्।
चुनावी अभियानका क्रममा अहिले अछाममा रहेका काठमाडौँ महानगरपालिकाका पूर्वमेयरसमेत रहेका बालेनले सहिदका सपना पूरा हुन नसक्दा गत भदौमा भएको जेनजी आन्दोलनमा युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनपरेको उल्लेख गरेका छन्।
‘८५ वर्ष पहिलेजस्तै यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्यो’, बालेनले लेखेका छन्, यसपटकको सहिद दिवस सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूको स्मरण गर्दै उहाँहरूको बलिदानीलाई सार्थक पार्न मन, वचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय हो। फेरि कसैले सहिद बन्नु नपरोस्!’
आउने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा-५ मा उम्मेदवार बनेका बालेनलाई विजयी भएमा प्रधानमन्त्री उम्मेदवार बनाउने निर्णय रास्वपाले गरिसकेको छ।
सहिद दिवसमा यस्तो छ बालेनको पूरा स्टाटस
राणा शासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द , धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालिन राज्यले क्रुरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको छ।
त्यसको दश वर्षपछि राणा शासनको अन्त्य भयो तर राज्य जनताको बन्न सकेन।
यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गरिरहनुपर्यो।
८५ वर्षमा पटक-पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन।
पटक-पटक नेपाली जनता सहिद भए तर सहिदका सपना पूरा हुन सकेनन्।
८५ वर्ष पहिलेजस्तै यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्यो।
अहिले हामी ती सहिदका सपना पूरा गर्ने बाटोमा अघि बढिरहेका छौँ।
लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ।
राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ।
यी सहिदहरूको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन।
अब समय आएको छ- सहिदका रगतलाई सम्मान गर्दै उहाँहरूको सपना पूरा गर्ने।
सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने।
यसपटकको सहिद दिवस सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूको स्मरण गर्दै उहाँहरूको बलिदानीलाई सार्थक पार्न मन, वचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय हो।
फेरि कसैले सहिद बन्नु नपरोस्!
सम्पूर्ण सहिदहर प्रति भावपूर्ण श्रद्धाञ्जली, सम्मान।








