काठमाडौं, १६ माघ । भारतको पूर्वी राज्य पश्चिम बंगालमा दुईवटा जोडिएका गोदाममा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
धेरै व्यक्ति अझै बेपत्ता भएको सरकारी प्रसारक अल इन्डिया रेडियो (एआईआर) ले जनाएको छ । पश्चिम बंगालको राजधानी कोलकाताबाट करिव १२ किलोमिटर दक्षिणमा पर्ने दक्षिण २४ परगना जिल्लाको आनन्दपुरस्थित नजिराबाद क्षेत्रमा सोमवार बिहान सबेरै एउटा गोदामबाट आगलागी शुरु भएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार करिव २५ देखि ३० जना अझै बेपत्ता रहेकाले मृतकको संख्या बढ्नसक्ने सम्भावना छ।
यसैबीच, प्रहरीले गोदामका मालिकलाई पक्राउ गरी अदालतमा पेश गरेको छ, जसले उनलाई आठ दिनको प्रहरी हिरासतमा पठाएको छ। एआईआरकाअनुसार अधिकारीहरूले आगलागीको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिएका छन् र फोरेन्सिक टोलीले घटनास्थलबाट प्रमाण संकलन गर्न सुरु गरेको छ।








