बागलुङ ।
यस वर्ष बागलुङमा २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादन बढेको हो ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको प्रकोपबाट सुन्तलाका बोट जोगिँदा उत्पादन वृद्धि भएको हो ।
कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष रु २६ करोड ४६ लाखको सुन्तला उत्पादन भएको थियो ।
पछिल्लो समय बाँझो खेतबारीमा किसानले सुन्तलाखेती गर्न थालेपछि बर्सेनि उत्पादन बढ्न थालेको ज्ञान केन्द्रका प्रमुख कुमार पुन मगरले जानकारी दिए । बसाइँसराइले रित्तिदै गएका गाउँमा समेत राम्रो सुन्तला उत्पादन भएको उनको भनाइ छ ।
पहिले कोदो, मकै, गहुँलगायतका खाद्य बाली लगाउने बारीमा हिजोआज सुन्तलाखेती गर्न थालिएको प्रमुख पुन मगरले बताए । कम मेहनतमा राम्रो उत्पादन गर्न सकिने हुँदा कृषकहरू सुन्तलाखेतीप्रति आकर्षित भएको उनी बताउँछन् ।
विसं २०७६ मा ५८५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकोमा हालसम्म आउँदा बढेर ६६४ हेक्टर पुगेको छ । अहिले ३८१ हेक्टरमा सुन्तला उत्पादन भइरहेको ज्ञान केन्द्रले जनाएको छ ।
-रासस








