काठमाडौं । फागुनको न्यानोपनसँगै आज फेब्रुअरी १४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गरिने ‘भ्यालेन्टाइन डे’ (प्रणय दिवस) नेपालमा पनि हर्षोल्लासका साथ मनाइँदै छ । पछिल्लो समय पश्चिमी संस्कृतिको प्रभाव मात्र नभई नेपाली समाजमा एउटा नयाँ सांस्कृतिक र सामाजिक पर्वका रूपमा यसले आफ्नो बलियो उपस्थिति जनाएको छ ।
विशेषगरी युवा पुस्तामा निकै लोकप्रिय बनेको यस दिनमा प्रेमीप्रेमीकाले एक-अर्काप्रति प्रेम भाव प्रकट गर्ने गर्दछन् । सहरका चोक, पार्क र क्याफेहरूमा राता गुलाफ बोकेका जोडीहरूको चहलपहलले प्रेमको रङ थपिदिएको छ । आधुनिकताको सञ्चारसँगै आफ्ना मन पर्ने मान्छेलाई फूल, कार्ड, चकलेट र आकर्षक उपहार दिने तथा स्नेहपूर्ण सन्देश आदानप्रदान गर्ने चलनले यतिबेला बजार र सामाजिक सञ्जाल दुवैलाई तताएको छ ।
‘भ्यालेन्टाइन डे’ को इतिहास तेस्रो शताब्दीको रोमबाट सुरु भएको मानिन्छ । तत्कालीन रोमन शासक क्लोडियसले आफ्नो सैनिकहरू प्रेम र विवाहमा लाग्दा युद्धमा कमजोर हुने ठानेर विवाह गर्न प्रतिबन्ध लगाएका थिए । तर, सन्त भ्यालेन्टाइनले शासकको उक्त कठोर आदेशको अवज्ञा गर्दै प्रेमको पक्षमा उभिएर गुप्त रूपमा सैनिकहरूको विवाह गराइदिए ।
प्रेमको मार्ग रोजेकै कारण उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । तिनै महान् प्रेमी र न्यायका संवाहक सन्त भ्यालेन्टाइनको त्याग र समर्पणको सम्झनामा विश्वभर यो दिवस मनाउन थालिएको विश्वास गरिन्छ ।
नेपालमा पनि अहिले भ्यालेन्टाइन डे केवल एक दिनमा सीमित छैन । फेब्रुअरी ७ देखि नै प्रेमको साता सुरु हुने गरेको छ । जसअन्तर्गत ‘रोज डे’ बाट सुरु भएको यो प्रेमिल यात्रा प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, किस डे र हग डे हुँदै आज भ्यालेन्टाइन डे का दिन उत्कर्षमा पुग्ने गर्दछ ।
सामाजिक सञ्जालको बढ्दो प्रयोग र प्रविधिको पहुँचले यो दिवस मनाउने शैलीलाई अझ बढी आधुनिक र आकर्षक बनाइदिएको छ । केवल प्रेमीप्रेमीका मात्र नभई, परिवारका सदस्य र साथीभाइबीच पनि आदर र सद्भाव व्यक्त गर्ने अवसरका रूपमा यसलाई लिने गरिएको छ ।








