गृहपृष्ठ Featured पाल्पाको सिद्धबाबामा श्रद्धालुको घुइँचो

पाल्पाको सिद्धबाबामा श्रद्धालुको घुइँचो

पाल्पा — शिवरात्रीको अवसरमा सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धबाबा मन्दिरमा आइतबार बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । यहाँ बिहान ३ बजेदेखि नै मुल मन्दिर खुला गरिएको सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोष शेरचनले बताए ।

सिद्धपुरुष भर्तृहरिको तपोभूमि तथा आदिमानव रामपिथेकसको विचरणस्थलका रुपमा परिचित सिद्धबाबामा शिवरात्रीमा मन्दिर दर्शन गर्न सयौं श्रद्धालु पुग्ने गर्छन् । यो क्षेत्र पुरातात्विक, धार्मिक एवं पर्यटकीय दृष्टिलेसमेत महत्त्वपूर्ण भएकाले श्रद्धालुहरुको घुइँचो लागेको स्थानीय दोभानका विष्णुप्रसाद पाण्डेयले जानकारी दिए ।

भक्तजनले सहज रूपमा सिद्धबाबा मन्दिरमा पूजा तथा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको मन्दिर विकास समितिले जनाएको छ । यहाँ पाल्पाका साथै छिमेकी जिल्ला रुपन्देही, नवलपरासी, कपिलवस्तु र छिमेकी मुलुक भारतबाटसमेत श्रद्धालु भक्तजन दर्शनका लागि आउने गरेको मन्दिर विकास समितिका अध्यक्ष शेरचनले बताए । यस क्षेत्रमा शिवको महिमा अपार रहेको र सिद्धबाबाको मूल मन्दिरलाई जिर्णोद्वार गर्ने योजनासहित शिवरात्रीमा भक्तजनलाई आमन्त्रण गरिएकाले घुइँचो लागेको उनले बताए ।

सम्बन्धित् समाचार