गृहपृष्ठ खबर ‘लभ पार्क’ मा काठै काठको शिवालय मन्दिर बन्दै, गरियो शिलान्यास

‘लभ पार्क’ मा काठै काठको शिवालय मन्दिर बन्दै, गरियो शिलान्यास

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ५ मा रहेको मधौलिया वन उद्यान ‘लभ पार्क’ मा शिवालय मन्दिरको शिलान्यास गरिएको छ । महाशिवरात्रीको अवसरमा आइतबार आयोजित विशेष कार्यक्रमकाबीच मन्दिरको शिलान्यास गरेसँगै निर्माण कार्यको औपचारिक सुरुवात भएको हो ।

वनका कार्यवाहक अध्यक्ष तुल्सीप्रसाद अर्यालले जनताको माग तथा आवश्यकतालाई मध्येनजर गर्दै वन उद्यानभित्र शिवालय मन्दिर स्थापना गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा काठैकाठबाट निर्माण हुने पूर्णकाष्ठ शिवालय मन्दिर निर्माण गरिनेछ ।

मधौलिया वन उद्यानका अध्यक्ष खडानन्द गौतमले मन्दिर काष्ठकलाबाट आकर्षक रूपमा निर्माण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरको उचाइ करिब ३० फिट रहनेछ भने १६ सय वर्गफुट क्षेत्रफलमा मन्दिर निर्माण गरिनेछ ।

मन्दिरमा शिव–पार्वती र गणेशको मूर्ति, शिवलिङ्ग तथा दुईवटा मन्दीसहितको भव्य संरचना बनाइने अध्यक्ष गौतमले बताउनुभयो । साथै, श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले मन्दिर निर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

आगामी वर्षको महाशिवरात्रीमा उद्घाटन गर्ने लक्ष्यसहित निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

स्थानीय धार्मिक आस्था, पर्यटन प्रवद्र्धन तथा वन उद्यानको आकर्षण थप बढाउने उद्देश्यले मन्दिर निर्माण थालिएको बताइएको छ ।

सम्बन्धित् समाचार