गृहपृष्ठ Featured दाङ–१ः समर्थन जुटाउँदै पूर्वमुख्यमन्त्री केसी

दाङ–१ः समर्थन जुटाउँदै पूर्वमुख्यमन्त्री केसी

दाङ – दाङ निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारी दिएका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले अन्य राजनीतिक दलबाट उम्मेदवारी दिएकाहरुको समर्थन जुटाएर चुनावी प्रचार अभियान सुरु गरेका छन्।

सोमबार लमहीमा पत्रकार सम्मेलन गर्दै केसीलाई उज्यालो पार्टीको समर्थनमा राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवारी दिएका रञ्जित चौधरी, आम जनता पार्टीबाट उम्मेदवारी दिएका सिताराम यादवले समर्थन गरेका छन्।

दुवै पार्टीका उम्मेदवार केसीको प्रचारप्रसार अभियानमा सँगै हिँडेको घोषणा गरेका हुन्।

‘हाम्रो समर्थन पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीलाई रहेको छ। हामी संयुक्त रुपमा प्रचारमा हिड्यौँ,’ चौधरीले भने,‘देउखुरीको साझा उम्मेदवारको रुपमा पूर्वमुख्यमन्त्रीलाई हाम्रो समर्थन रहेको छ।’

यस्तै, जनता लोकतान्त्रिक पार्टी, नेपालले पनि केसीलाई समर्थन जनाएको विज्ञप्ति सार्वजनिक गरेको छ। केन्द्रीय अध्यक्ष अशोककुमार यादवले केसीको समर्थनमा विज्ञप्ति जारी गरेका हुन्।

नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारका आकांक्षी रहेका केसीलाई पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र मनोनयन दर्ता गरेका हुन्। नेकपाबाट मेटमणि चौधरी उम्मेदवार बनेपछि केसीले विद्रोही बन्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

केसीको पक्षमा पूर्वमाओवादीहरु खुलेर प्रचारप्रसारमा जुटेका देखिन्छन्।

सम्बन्धित् समाचार